कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको एक महिना पुग्न लाग्यो । तर, घटना अहिले पनि रहस्यमै छ ।
प्रहरीले दम्पती हत्यामा संलग्नलाई अझै कानुनी दायरामा ल्याउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले घटनाको अनुसन्धानमा अहिले सीआईबीको टोली खटिएको बताए ।
‘सीआईबीका वरिष्ठ प्रहरी नायब निरीक्षक सूर्य श्रेष्ठको कमाण्डमा घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी जोशीले भने, ‘इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षकको टोलीले पनि अनुसन्धानमा सघाइरहेको छ । प्रदेश र संघबाट पनि प्रहरी टोली खटिएर सीआईबीलाई सघाइरहेको छ ।’
उनका अनुसार बडायक दम्पतीका विषयमा परिवारका सदस्य र आफन्त जानकार नहुँदा घटनाको अनुसन्धानमा समस्या भइरहेको छ । बडायक दम्पती मृत फेला परेकै दिन कञ्चनपुरका डीएसपी जोशी र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो । त्यसको दोस्रो दिन नै प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र केसीले घटनामा संलग्नको नजिक पुगिसकेको दाबी गरेका थिए ।
८ कात्तिकको राति सँगै सुतेका उनीहरू बिहान मृत फेला परेका थिए । रमेशको शव आँगन र उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै थियो भने झुलमा रगत लतपतिएको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट थियो ।