• मंसिर ४ २०८१, मंगलवार

दुर्गा प्रसाईंसँगै २५ जना समातिएको खुलासा

मंसिर ४ २०८१, मंगलवार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरबाट प्रहरीले २५ जनालाई नियन्त्रणमा लिएको खुलेको छ । मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई घरबाट नियन्त्रणमा लिएको थियो । सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले प्रसाईंको घरबाट तीन वटा ल्यापटप र ९ वटा मोबाइल सेट पनि बरामद गरेको बताए ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोली पनि प्रसाईंको घरमा पुगेको थियो । प्रसाईंको घरबाट प्रहरीले थप २५ जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

जसमध्ये १५ जनालाई प्रहरीले मंगलबार साँझ नै छाड्ने तयारी गरेको छ । बाँकी १० जनामाथि भने थप अनुसन्धान हुनेछ ।
‘नियन्त्रणमा रहेकाहरू आन्दोलन परिचालन समितिका सदस्यहरू छन्, उहाँहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ,’ उनले भने । प्रसाईंले मंसिर ७ गते काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका थिए ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट प्रमाणु प्रसाईंले सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि सिआइबीले मंगलबार प्रसाईंलाई पक्राउ गरेको थियो ।
प्रसाईंमाथि अहिले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीको भनाइ छ । उनीमाथि साइबर ब्युरोले अनुसन्धान गर्नेछ ।