• मंसिर २ २०८१, आईतवार

अपहरण र शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

मंसिर २ २०८१, आईतवार

२ मङ्सिर, काठमाडौँ । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रसुवाका बुद्धि बहादुर तामाङ, नुर्पु सिंगी तामाङ, टेम्पा नुर्पु तामाङ र गोपाल तामाङ रहेका छन् ।

योजनाबद्ध तवरले उनीहरूले राजधानीको बालाजु माछापोखरीबाट गत असोज ४ गते पीडितहरूलाई ट्याक्सीमा राखी बुढानीलकण्ठको शैलजा रिसोर्टमा लगेका थिए ।

त्यसपछि पीडितहरूलाई आँखामा पट्टी बाँधी बन्धक बनाई कुटपिट गर्नुका साथै चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाएर थप रकम समेत माग गरेका थिए ।

यस सम्बन्धी उजुरी परेपछि ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।