२ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा एक वडाध्यक्षले तोडफोड गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गरेका हुन् । कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उनी उपमेयरको कार्यकक्षमा पुगेका थिए । त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको एक कर्मचारीले जानकारी दिए ।
‘उपमेयर शाक्यले वडाध्यक्षले माफी माग्नुपर्छ भनेर फुटेको टेबुल पनि उठाइएको छैन’, ती कर्मचारीले भने । वडाध्यक्ष महर्जनलाई यसबारे सोध्न खोज्दा उनले फोन उठाएनन् । कार्यवाहक मेयर शाक्यले वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतको समय नपाएपछि आफ्नो कार्यकक्षमा आएर तोडफोड गरेको बताइन् । ‘प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखहरुको बैठक राख्नुभएको थियो । त्यही बेला ३ नम्बर वडाध्यक्षले वडाको विभिन्न मागहरुले लिएर नगरपालिका आउनुभएको थियो ।
त्यो बेला समय नपाएपछि उहाँ रिसाएर मेरो सचिवालयमा पस्नुभयो । मसहित अरु जनप्रतिनिधि सँगै थियौं । उहाँले प्रमुख प्रशासकीय अधिकृतले समय नदिएको भनेर रिसाउँदै टेबल फुटाउनु भयो’, उनले भनिन् । कार्यवाहक मेयर शाक्यले कुनै विषयमा चित्र् नबुझ्दैमा जनप्रतिनिधिले उच्छृङ्खल व्यवहार देखाउनु उचित नहुने बताइन् ।