• मंसिर १ २०८१, शनिबार

कार्तिकमा ६१ हजार तिर्थयात्री पाथीभरा मन्दिर पुगे

मंसिर १ २०८१, शनिबार

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरामा कार्तिक महिनामा मात्रै ६१ हजार एक सय ७३ जना पुगेका छन् । तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि कार्तिक महिनामा स्वदेश तथा भारतका गरी उक्त संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए ।

उनका अनुसार असोज महिनामा भएको वर्षा र बाढी पहिरोका कारण तीर्थयात्री प्रभावित भएका थिए । तर, कर्तिकमा पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएपछि र सडकयात्रा सहज भएकाले उल्लेख्य मात्रामा तिर्थयात्री पुगेका हुन् ।
निर्देशक हाङबाङले भारतको सिक्किम, दार्जेलिङ, मेघालय तथा आसामका साथै दिल्लीबाट समेत तिर्थयात्रीहरू आएका थिए ।
तिर्थयात्री बढेसँगै फोहोर व्यवस्थापनका लागि शनिबार वृहत सरसफाई अभियान सञ्चालन गरिएको निर्देशक हाङबाङले बताए ।
समितिका अध्यक्ष रक्की थेवेले काफ्लेपाटीदेखि मन्दिरसम्मको पाँच किलोमिटर क्षेत्र सरसफाइ गरिएको बताए ।
समितिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागीतामा एक सय ३५ जनाले शनिबार बिहानैदेखि सरसफाइ गरेको अध्यक्ष थेवेले बताए ।