टिम व्यक्तिहरूको समूह हो । टिमको निर्माण चरणवद्ध एवं योजनावद्धरूपमा गरिएको हुन्छ । टिम निर्माणको सन्दर्भमा समस्या वा आवश्यकतालाई बुझ्नु पहिलो चरण हो । विषयवस्तु पहिचान पछि सदस्यहरूको योग्यता पहिचान गरी सदस्य तोक्नु दोस्रो चरण हो । कामको बाँडफाँड तेस्रो चरण हो भने सूचना र तथ्यांक संकलन, विश्लेषण, वास्तविकता पहिचान चौथो चरण हो ।
पाँचौं चरणमा वास्तविकता पहिचान पछि उद्देश्य प्राप्त गर्ने गरी रणनीतिक योजना निर्माण गरिन्छ । छैटौंमा रणनीतिक योजनाको कार्यान्वयन र सातौमा उपलब्धि प्राप्ति र आठौंमा कार्यपरिणामको मूल्यांकन गर्ने गरिन्छ ।
टिममा कार्य गर्दा कर्मचारीको क्षमता, उत्प्रेरणा, सीप र आत्मविश्वास बढने विश्वास गरिन्छ । टोलिगत कार्यले कार्य सम्पादनलाई गुणस्तरीय र उपलब्धिमूलक बनाउँछ । औपचारिक संगठनमा भन्दा मेट्रिक्स र भरच्यूअल संगठनमा टोलिगत कार्यले बढी महत्व पाउँदै गएको पाइन्छ ।
वर्तमान परिप्रेक्ष्यमा विभिन्न मन्त्रालय, निकाय एवं विभागहरू बीच रणनीतिक साझेदारी (स्टारटेजिक अलाईन्स) गरी कार्यसम्पादन गर्ने प्रक्रिया एक रणनीतिको रुपमा विकास भएकोछ । यो टोलिगत कार्यको एउटा पक्ष हो ।
जटिल, अस्थीर र अगम्य कार्य वातावरण र सीमाविहिन संगठनको अवधारणा सँगसँगै टोलिगत कार्यको महत्व बढेर गएको हो । यसर्थ कर्मचारीतन्त्रमा टोलिगत कार्य एक अलग पहिचानको रुपमा स्थापित भएको छ ।
टिम र समिति उस्तै प्रकारका देखिन्छन् । समितिलाई औपचारिक व्यवस्था रुपमा लिइन्छ । टास्कफोर्सलाई औपचारिक तर अत्यन्त छोटो समसावधिको टिमको नै रुपमा लिइन्छ ।
जब संगठन विकासमा ठाडो र पदसोपानमुलक संरचना निर्माण भएपछि कार्य गर्ने सन्र्दभमा विभिन्न विभागहरुबीच समतल समन्वयको महसूस भयो त्यसपछि भिन्न भिन्न प्रकृतिका र्सगठन एवं टिम निर्माणको प्रारम्भ भयो ।
पहिलो, पार कार्यात्मक टिम (क्रस फङसनल टिम), जसमा संगठनका भिन्न भिन्न शाखा, महाशाखा वा विभागका विज्ञ जानकारहरू जटिल र अन्तरनिर्भर विषयवस्तुको अन्तरनीहित उद्देश्य पुरा गर्न वा समस्या समाधान गर्न सहभागी हुन्छन् ।
निजामती सेवामा रहेको सामान्यज्ञ र विशेषज्ञबीच समन्वय गर्न र उनीहरूबीच रहेको दूरी समाप्त गर्न यो टिम निक्कै उपयोगीसिद्ध भएको पाइन्छ ।
दोस्रो, समस्या समाधान (प्रोब्लेम सोल्भिङ) टिम हो जुन खास समस्या समाधानका लागि बनाइएको हुन्छ र समस्या समाधानपछि विघटन हुन्छ । तेस्रो, स्वयं व्यवस्थित (सेल्फ म्यानेज्ड) टिम आफ्नो कार्यादेश, अधिकार क्षेत्र, बजेट, प्रचलित ऐन कानून तथा प्रक्रिया अनुरुप उद्देश्य प्राप्त गर्न स्वतः क्रियाशील हुन्छ ।
चौथो, भरच्यूअल टिम, वितरित कार्य सम्पादन गर्न उपयोगी हुन्छ । सूचना प्रविधिको विकास र विश्वव्यापीकरणको साथसाथै संगठनात्मक उद्देश्य हासिल गर्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विज्ञ परिचालन गर्ने उद्देश्यले विषयक्षेत्रसँग सम्बन्धित विज्ञहरू पहिचान गरी टिम निर्माण गरिन्छ । जसमा टिमका सदस्य सशरीर बैठकमा उपस्थित हुनु पर्दैन ।
सवै कार्य अनलाईन नेटवर्कबाट हुन्छ । भरच्यूअल टिमको निर्णय प्रक्रियालाई डेल्फी निर्णय प्रक्रिया भन्ने गरिन्छ । पाँचौंमा, क्वालिटि सर्कल, जसमा संगठनका कामसँग सम्बन्धित कर्मचारी सम्मिलित संगठनको कार्यसम्पादन बढाउन, सेवा र वस्तुको गुणस्तर वृद्धि गर्न छलफल र निर्णय गर्दछन् ।
टोलिगत कार्यमा टिमका सदस्यहरू टिमको कार्य सम्पादन परिणामप्रति सामुहिकरुपमा उत्तरदायी र जिम्मेवार हुन्छन् । टिमका सदस्यहरू जिम्मेवारी बाँडफाँडमा, कार्यतालिका बनाउन र कार्य गर्न स्वतन्त्र हुन्छन् ।
सदस्यहरूले एकभन्दा धेरै जिम्मेवारी लिएका हुन्छन् र एक अर्कालाई प्रशिक्षित र सूचीकृत पनि गर्दछन् । सदस्यहरू एक अर्कालाई सघाउँदै आफ्नो लक्ष्य प्राप्त गर्न कटिवद्ध हुन्छन् र समयाभित्र उद्देश्य हासिल गर्दछन् । भिन्न भिन्न योग्यता भएका सदस्यहरूले टिममा नयाँ नयाँ विचार र उपायहरू दिन सक्दछन् । टिमले खुला पद्धतिमा कार्य गर्दछ ।
स्रोतसाधन, विचारलाई उत्पादन वा सेवामा रुपान्तरण गर्दछ । तोकिएको कार्य जिममेवारी, तोकिएको समयमा पुरा गर्नु टिमको कार्यसम्पादन परिणाम हो । समस्या समाधान गर्न, जोखिम कम हुनेहुँदा नवपरिवर्तन र सिर्जना गर्न, कर्मचारीको तनाव कम गरी खुशी प्रवाह गर्न र गल्तीबाट सिक्न टोलिगत कार्य अति उपयोगी हुन्छ ।
टिममा टिमको उपलब्धिमा टिमका सदस्यहरूको व्यक्तिगत विकास र सन्तुष्टिलाई आधारभूत मापदण्ड मानिन्छ, जसले टिमका सदस्यहरूलाई टिममा सहभागी हुन उत्प्रेरित गर्दछ । समूहगत कार्य प्रक्रियाको मुलभूत मर्म भनेको सदस्यहरूको सामूहिकरुपमा कार्य जिम्मेवारी पूरा गर्नु र संगठनको उत्पादकत्ब बढाउनु हो ।
टिमको प्रभावकारिताका लागि समूहगत गतिशिलता राम्रो हुनुपर्दछ । समूह गतिशिलता समूहको उद्देश्य, लक्ष्य र हीतसँग सम्बन्धित हुन्छ । समूहको उद्देश्य प्राप्त गर्नको लागि समूहमारहेको अन्तरनिर्भरता, अन्तरसम्बन्ध र अन्तरक्रियालाई समूहगत गतिशिलता भनिन्छ ।
जुन खासगरी सदस्यहरूबीचको अन्तरनिर्भरता, अन्तरसम्बन्ध र अन्तरक्रियाको स्थितिमा निर्भर गर्दट । टिम र समूहको कार्यसम्पादन प्रक्रिया धेरै हदसम्म समान हुन्छ । समूह वा टिमको सफलता आगत स्रोत साधनमा निर्भर गर्दछ ।
आगतका लागि टिमका सदस्यहरूमा विविधता आधारभूत पक्ष मानिन्छ । खासगरी टिमको सफलता टिमका सदस्यहरूको नजिकपन वा सामिप्यता वा धनिष्टताको अवस्थामा निर्भर गर्दछ । घनिष्टता बढी भए कार्यसम्पादनस्तर बढी र कम भए कम हुन्छ ।
साथसाथै, टिमको प्रभावकारिता संगठनको नेतृत्वको कार्यसम्पादन सिद्धान्तमा भर पर्दछ । उदाहरणको लागि वितरणकारी अर्थात (जिम्मेवारी सबैलाई बाँडने) नेतृत्व टिमको प्रभावकारीताका लागि उपयुक्त मानिन्छ । टोलिगत कार्यमा सञ्चारलाई महत्वपूर्ण संयन्त्र मानिन्छ ।
टोलिगत कार्यका महत्वपूर्ण पक्ष सहमतिमा निर्णय लिनु हो । टोलिगत कार्यमा सबैको सहमती, बहुमतको सहमती, उत्कृष्ट विकल्पमा सहमती, बहुमत प्राप्त प्रभावशाली सदस्यको प्रभावमा, नेतृत्वको आदेशमा तथा विचार र तर्कहरूको प्रवाहको पक्ष विपक्षको आधारमा निर्णय लिइन्छ ।
यसर्थ कहिले काँही टोलिगत कार्यमा ढीलो निर्णय हुने र निर्णय सतही हुने भय रहने गर्दछ । टिमले सहभागितामूलक निर्णय प्रक्रियालाई जोड दिने कारण निर्णयमा समूहगत सोंच रहने, जोखिम पन्छाउने तथा समूहमा दक्षता नदेखाउने (सोसल लफिङ) प्रवृतिले निर्णयलाई प्रभावित गर्दछ ।
टोलिगत कार्यमा विश्वासको संकट, विवादको संभावना, वचनबद्धताको कमी, उत्तरदायित्वबाट पछि हटने र परिणामको वेवास्ता गर्ने प्रवृति पाईन्छ । टोलिगत कार्यमा काम गर्दा टिमका सदस्यहरूमा एक प्रकारको द्वन्द्व अन्तरनीहित रहेको हुन्छ ।
टिमका सदस्यहरू (क) टिममा काम गर्दा व्यक्तिगत पहिचान लोप हुने डर, (ख) पूर्णरुपमा खुल्न र मनमा लागेको कुरा भन्न नसक्ने (ग) भित्रै देखि टिमको हीतमा सहभागी भावना नआउने (घ) व्यक्तिगत स्वार्थमा आँच आउने देखेमा निष्कृय रहने (ङ) आफ्नो अधिकारमा कमी हुने डर÷शंका (च) टोलीगत कार्यबाट पनि अपेक्षित उपलब्धि नहुने हुँदा सक्रिय नहुने तथा (छ) सिर्जनशीलता को कमी जस्ता द्वन्द्वहरू रहेका हुन्छन् ।
यस्ता द्वन्द्वहरूलाई समाधान गर्ने उपायहरू खुला छलफल, समान हैसियत र सम्मान, तर्क राय राख्ने समान अवसर, सबैका भनाइलाई समान महत्व, लक्ष्यउन्मुख, सिर्जनालाई महत्व तथा व्यक्तिगत विशेष योगदानलाई कदर गर्ने उपायहरू अपनाउन सकिन्छ ।