काठमाडौं । नेपालको विगत १० वर्षको तथ्याङ्क हेर्दा सडक दुर्घटनामा परेर औसतमा दैनिक ६ जनाले ज्यान गुमाउने गरेको पाइएको छ । घरबाट बाहिर निसक्ने मध्ये दैनिक ६ जना दुर्घटनाका कारण घर फर्कन पाउँदैनन । भयावह दुर्घटना दैनिक बढिरहेपनि सरकारले आफैले बनाएको प्रतिवेदन पनि कार्यान्वयन गर्न सकिरहेको छैन भने दुर्घटना हुने दर दैनिक बढ्दो छ । दैनिकजसो हुने दुर्घटनाको खबरमा मृत्यु र घाइतेको विवरण आइरहन्छन् । सरकार त्यस्तो सवारी दुर्घटना न्यूनिकरणमा भन्दा पनि तथ्याङ्क संकलन मात्रै गरिरहेछ ।
पहाडी क्षेत्रको नागबेली र साँघुरो सडक होस् या शहरीक्षेत्रको भीडमा हुने दुर्घटनाले दैनिक जिउधनको क्षति भइरहेको छ । दुर्घटनामा परेर घाइते र अपाङ्गता हुनेको दर पनि उस्तै भयावह छ । तर सरकारले सडक सुरक्षा र दुर्घटना न्यूनिकरणमा ध्यान दिएको पाइदैन । विभिन्न प्रतिवेदनले पनि सडक दुर्घटना न्यूनिकरण गर्नुपर्ने औल्याइरहेको छ । ठुलो सडक दुर्घटनापछि सरकारले छानबिन समिति गठन गर्ने गर्छ प्रतिवेदन तयार बनाएर सरकारलाई ध्यानाकर्षण र सुझाव पनि दिइरहेको हुन्छ । तर त्यस्तो प्रतिवेदन सरकारले दराजमा सजाएर राख्ने काम बाहेक केही गरेको देखिदैन । यस्तो सडक दुर्घटना गाउँमा भन्दा धेरै शहरीक्षेत्रमा धेरै घटना हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
नेपाल प्रहरीको तथ्याङ्क हेर्दा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ । जसमध्ये औसतमा ६ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । पछिल्ला १० वर्षको तथ्याङ्क केलाएर हेरदा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या भयावह तस्वीर देखिन्छ । प्रहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष (आव) २०७१/७२ मा २ हजार ४, आव २०७२/७३ मा २ हजार ६, आव २०७३/७४ मा २ हजार ३८४, आव २०७४/७५ मा २ हजार ७८९, आव २०७५/७६ मा २ हजार ७८९, आव २०७६/७७ मा २ हजार २५१, आव २०७७/७८ मा २ हजार ५००, आव २०७८/७९ मा २ हजार ८८३, आव २०७९/८० मा २ हजार ३७६ र आव २०८०/८१ मा २ हजार ३६९ जनाको मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा पनि सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्ष १९ हजार ९८४ वटा मोटरसाइकल (५६.४५ प्रतिशत) दुर्घटनामा संलग्न थिए । प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष नेपालमा भएका दुर्घटनामा २ हजार १९३ वटा बस, ६ हजार ८३७ वटा कार तथा जिप, १ हजार ४८६ वटा ट्रक तथा ट्याङ्कर, ४८२ वटा माइक्रो, ४६६ वटा टिपर, ७८३ वटा ट्याक्टर, १ हजार ४७३ वटा तीन पाङ्ग्रे सवारी साधन र १ हजार ५२० वटा साइकल संलग्न थिए ।
प्रहरीले निकालेको तथ्यांक अनुसार हेर्दा सवारी दुर्घटना हुनुको प्रमुख कारण तिब्र गतिमा सवारी कुदाउँदा बढि दुर्घटनामा परको औल्याएको छ । प्रहरीले निकाले तथ्यांक केलाउँदा ६ महिनाको अवधिमा हेर्दा तीव्र गतिमा सवारी चलाउँदा ५ हजार ७ सय वटा दुर्घटना भएको देखिन्छ । त्यस्तै बाटो काट्दा यात्रुका कारण ७५६ वटा र मादक पदार्थ सेवन (मापसे) गरेका कारण ६९४ वटा, अन्य ट्राफिक नियम उल्लंघन गरेका कारण ५७४ वटा दुर्घटना भएको तथ्यांकले देखाउँछ । त्यस्तै सवारी साधन ओभरटेक गर्दा ३५५ वटा दुर्घटना भएको देखिन्छ ।
प्रहरीका अनुसार सवारीसाधनमा क्षमताभन्दा बढी सामान राखेर ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा जस्ता कारणले समेत सवारी दुर्घटना हुने गरेका छन् । नेपालको सडक सबै ठाउँ पक्की छैन त्यसमा पनि जीर्ण सडक, कच्ची सडक, उकालो ओरालामा सवारी चलाउँदा पनि दुर्घटना भइरहको प्रहरीको तथ्यांक छ । चिसो मौसममा हुस्सु कुहिरोका कारण भिजिविलिटी कम हुँदा चालकले तिब्र गतिमा सवारी चलाउँदा पनि दुर्घटना बढिरहेको छ । कतिपय दुर्घटना भने बाढि पहिरो र चौपायको कारण पनि दुर्घटना हुने गरेको पाइन्छ ।
दुर्घटनामा सबैभन्दा बढी युवा, तिब्र गतिले बढी धनजनको क्षति
प्रहरीले उपत्यकाको तीन जिल्लाको दुर्घटनामा को बढि संलग्न छन् भने निकोलेका तथ्यांक हेर्दा सबै भन्दा बढी २५ देखि ४० वर्षका युवा दुर्घटनामा परेको देखिन्छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा विगत एक वर्षको तथ्यांक हेर्दा सवारी दुर्घटना गराउनेमा सबैभन्दा बढी २५ देखि ४० वर्ष उमेर समूहका चालक छन् ।
उपत्यकाका तीन जिल्लामा कुल १० हजार ६७५ वटा सवारी दुर्घटनाका घटना भएका थिए । ति मध्ये गत आर्थिक वर्ष सवारी दुर्घटनामा संलग्न चालकमध्ये ९ हजार २१७ जना उक्त उमेर समूहको रहेका छन् । दोस्रो ठूलो संख्या १६ देखि २५ वर्ष उमेर समूह छ । आर्थिक वर्ष २०७९÷८० मा १६ देखि २५ वर्ष उमेर समूहका ५ हजार ५२० जना सवारी चालक दुर्घटनामा संलग्न थिए । ४० वर्ष माथिका ४ हजार ५०३ जना चालक दुर्घटनामा संलग्न रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्टले सडक दुर्घटनाबारे के भन्छ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सन् २०२० प्रकाशित रिपोर्टले भन्छ– ‘‘सडक दुर्घटनाका कारण हुने मृत्युदरको आधारमा नेपाल विश्वको ७२ औं राष्ट्रमा पर्छ ।’’ नेपालमा हुने कूल मृत्युमध्ये २.९० प्रतिशत सडक दुर्घटनाका कारण हुने गरेको छ । यो मृत्युदर उमेर समूह मृत्युदरसँग समायोजन गर्दा प्रति एक लाख जनसंख्यामा २०.७० व्यक्ति हुन आउँछ । डब्लुएचओले नेपाललाई सडक दुर्घटनाको हिसाबले अत्यन्त असुरक्षित राष्ट्रको सूचीमा राखेको छ ।
डब्लुएचओले अत्यन्त असुरक्षित राष्ट्रको सूचीमा नेपाललाई त्यसै राखेको होइन । तथ्याङ्कले भन्छ– आर्थिक वर्ष २०६४ साउन १ गतेदेखि २०८० पुस मसान्तसम्मको साढे १६ वर्षको अवधिमा २ लाख ७४ हजार ९०९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ३४ हजार ३३० जनाको मृत्यु र २ लाख ५९ हजार ६३५ जना घाइते (सामान्य र गम्भीर) भएका छन् ।
सवारी दुर्घटना न्यूनिकरणको प्रतिवेदन कार्यान्वयन भएन
नेपालमा सवारी दुर्घटना बढेपछि संघीय संसदको विकास तथा प्रविधि समितिले महिनौ लगाएर प्रतिवेदन पनि तयार पारेको छ । अध्ययन गर्न बनेको उपसमितिले सवारी दुर्घटना न्यूनिकरण अध्ययन उपसमिति प्रतिवेदन, २०७७ शीर्षकमा प्रतिवेदन तयार बनाएको छ ।
नेपालमा सवारी दुर्घटनाको कारण र समाधानको उपाय के हुन सक्छ भन्ने विषयमा प्रतिवेदनमा समेटिएका छन् । दुर्घटना हुनुको ९७ वटा कारण औल्याइएको छ भने सामाधानको बाटो के हुन सक्छ भनेर सुझाएको छ । तर, सो प्रतिवेदन कार्यान्वयन हुन सकेको देखिदैन ।
‘नेपालमा सवारी दुर्घटना हुनुमा कुनै एक कारणमात्र जिम्मेवार देखिँदैन । सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारी साधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभाव, सवारी साधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापर्बाही सडक दुर्घटना निम्त्याउने प्रमुख कारण बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
सवारी चालकले लापर्बाही तरिकाले सवारी चलाउनु, पर्याप्त ट्राफिक ज्ञानको कमी, मादक पदार्थको सेवन, तीव्र गतिमा सवारी चलाउनु, पर्याप्त तालिमको अभाव, बढी कमाउन चालकहरूबीच बढी सामान र यात्रु राख्न अस्वस्थ प्रतिस्पर्धा हुनु, चालकलाई न्यून सामाजिक मर्यादामा राखिनु, सवारी चालक अनुमतिपत्र लिन निश्चित शैक्षिक योग्यता नराख्दा पनि सडक दुर्घटना बढेको ठहर प्रतिवेदनमा गरिएको छ ।
प्रतिवेदनमा सवारी साधनको यान्त्रिक समस्या, सडक समस्या, सवारी चालक समस्या, यात्रु, पैदलयात्री तथा सर्वसाधारणसम्बन्धी समस्या, ट्राफिक प्रहरीसम्बन्धी समस्या, सवारी धनीसम्बन्धी समस्या, संस्थागत एवं अनुगमनसँग सम्बन्धित कारण र कानुन कार्यान्वयनसम्बन्धी समस्या शीर्षकमा दुर्घटनाका कारणहरू विस्तृत रुपमा उल्लेख छ ।
सवारी साधनको नियमित मर्मत–सम्भार तथा परीक्षण नगर्ने प्रवृत्ति, पुराना सवारी सधान प्रयोगमा रहनु, मर्मतमा नक्कली पाटपूर्जा प्रयोग हुनु, कृत्रिम वा थप अस्थायी सिट राखी सवारी साधन संचालन गरिनु, एक सिट एक यात्रु नियम पालना नहुनुका कारण नेपालमा दुर्घटना बढेको प्रतिवेदनमा स्पष्ट किटान गरिएको छ ।
सडक क्षमताभन्दा सवारी साधनको संख्या बढी हुनु, सडकमा साँघुरा मोड र ठाडो उकालो ओरालो हुनु, प्राविधिक मापदण्ड र उचित इन्जिनियरिङविना सडक निर्माण हुनु, राजमार्ग तथा अन्य सडकमा पर्याप्त ट्राफिक संकेत, लाइट नहुनु, सडकमा खाल्टाखुल्डी व्यापक हुनु, सडकपेटी पर्याप्त नहुनु पनि नेपालमा सवारी दुर्घटनाका कारण हुन् ।