• कार्तिक ३० २०८१, शुक्रबार

स्वास्थ्यमन्त्रीमा केनेडी जुनियर नियुक्ति गर्ने ट्रम्पको निर्णयको किन भइरहेको छ विरोध ?

कार्तिक ३० २०८१, शुक्रबार

३० कात्तिक, काठमाडौं । अमेरिकाको स्वास्थ्यमन्त्रीमा रोबर्ट एफ केनेडी जुनियरलाई नियुक्त गर्ने डोनाल्ड ट्रम्पको निर्णयको विरोध हुन थालेको छ । केनेडी कोभिड भ्याक्सिनको विरुद्धमा आफूले राख्दै आएको अडानका लागि परिचित छन । बीबीसीका अनुसार क्यालिफोर्नियाको डेमोक्रेटिक पार्टीका प्रतिनिधि रोबर्ट गार्सियाले स्वास्थ्यमन्त्रीमा केनेडीको नियुक्ति निकै खराब भएको भन्दै यस निर्णयले जनताको जीवनसँग खेलबाड भइरहेको चेतावनी दिएका छन् ।

‘केनेडी जुनियर एक खोपविरोधी षड्यन्त्रकारी हुन, उनले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली र खोप वितरण प्रणालीलाई बर्बाद पार्नेछन्’, गार्सियाले भनेका छन् । त्यसैगरी अमेरिकी पब्लिक हेल्थ एसोसिएसनले पनि रोबर्ट एफ केनेडी जुनियरको नियुक्तिको विरोध गरेको छ। एसोसिएसनले डोनाल्ड ट्रम्पको यो नियुक्तिको कडा विरोध गरेको बीबीसीले जनाएको छ ।

एसोसिएसनका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले भनेका छन, ‘उनी प्रशिक्षण, व्यवस्थापन र स्वभावका कारण यो पदका लागि योग्य छैनन, उनी यस पदका लागि पूर्ण रूपमा गलत व्यक्ति हुन ’उनले अगाडि थपेका छन, ‘उनी काम गर्ने अनुभव नभएका व्यक्ति हुन्। यस क्षेत्रमा र देशको स्वास्थ्यमा उनले धेरै नोक्सान गरिसकेका छन् ।’ राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएका ट्रम्पले आफ्नो टिम विस्तार गर्दै लगिरहेका छन् । यस क्रममा उनले आफ्ना प्रशंसक र सहयोगीहरूलाई विभिन्न पदमा नियुक्ति दिएका छन् ।