• कार्तिक ३० २०८१, शुक्रबार

यो साता सेयर मूल्य धेरै बढेका यी १० कम्पनी

कार्तिक ३० २०८१, शुक्रबार

३० कात्तिक, काठमाडौं । यो साता सेयर बजार २.७२ प्रतिशत बढेको छ । गत साता २६७५ अंकमा बन्द भएको बजार यो साता ७३ अंक बढेर २७४८ मा बन्द भयो । मुख्य चाडपर्वहरु सकिएसँगै खुलेको बजारमा यो साता पाँचै दिन कारोबार भयो । गत साता बजार जम्मा २ अंक घटेको थियो । यो साता पहिलो दिन आइतबार ६२.५४ अंक बढेको बजार, सोमबार थप २२.१४ अंक बढ्यो । मंगलबार ११.२४ र बुधबार १४.१२ अंक घट्यो । अन्तिम दिन बिहीबार १३.९५ अंक बढ्यो ।

पछिल्ला दिनमा बजारमा कारोबार रकम पनि बढेको देखिन्छ । गत साताको अन्तिम दिन जम्मा ५ अर्ब २२ करोडको कारोबार भएकोमा यो साता आइतबार ९ अर्ब ७७ करोडको भयो । त्यस्तै सोमबार ११ अर्ब ३१ करोड, मंगलबार ७ अर्ब ८५ करोड, बुधबार ७ अर्ब ९१ करोड र बिहीबार १० अर्ब ३२ करोडको भयो । बजारको कारोबार रकमसँगै अंक बढ्नै जानुले बजारले बढ्दो लय लिएको जनाउँछ ।

फाइनान्स, हाइड्रोपावर र विकास बैंक सेक्टरमा आकर्षण
यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ७.५४ प्रतिशत बढ्यो । गत साता पनि फाइनान्स सेक्टर १ प्रतिशत बढेको थियो । पहिलो त्रैमासिक वित्तीय विवरण कमजोरका बावजुत पनि ‘लोक्याप’ प्रभावले फाइनान्स कम्पनीको मूल्य उच्च दरमा बढ्यो । यो साता फाइनान्सपछि धेरै बढ्नेमा हाइड्रोपावर सेक्टर रह्यो । हाइड्रोपावर सेक्टर यो साता ५.८ प्रतिशत बढ्यो । गत साता समग्र बजार घट्दा पनि हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै १.२५ प्रतिशत बढेको थियो ।

सबैजसो हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । समग्रमा हाइड्रोपावर कम्पनीहरुको नाफा बढेको छ । बैंकको घटेको ब्याजदरका कारण यसपटक धेरै हाइड्रोपावर कम्पनीलाई वित्तीय लागत घट्न गयो । जसले गर्दा धेरै कम्पनीको नाफामा सुधार देखिएको हो । फाइनान्स र हाइड्रोपावरपछि यो साता धेरै बढेको सेक्टर विकास बैंक हो । यो सेक्टर ४.९९ प्रतिशत बढ्यो । गत साता यो सेक्टर ०.२४ प्रतिशत बढेको थियो ।

बजारलाई बढी प्रभाव पार्ने बैंकिङ सेक्टर पनि यो साता १.३ प्रतिशत बढ्यो । व्यापार बाहेक यो साता सबै सेक्टर बढेका छन् । माइक्रोफाइनान्समा पनि यो साता राम्रो लय देखियो । मूल्य धेरै बढेका टप १० कम्पनीमा यो साता माइक्रोफाइनान्सकै वर्चस्व देखिएको छ ।धेरै कारोबार भएका कम्पनी रकमका आधारमा यो साता धेरै कारोबार भएको कम्पनीमा साहस ऊर्जा रह्यो । सो कम्पनीको ५ अर्ब ३६ करोडको कारोबार भयो ।

साहसपछि रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्रोपावर, हिमालयन रिइन्स्योरेनस, बेस्ट फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहे । कारोबार संख्याका आधारमा साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, मध्यभोटेकोशी जलविद्युत् कम्पनी, जानाकी फाइनान्स, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत्, सानिमा जीआईसी इन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर, बेस्ट फाइनान्स र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।