• कार्तिक ३० २०८१, शुक्रबार

शोकमा डुबेको शैल्यशिखर नगरपालिकाले दियो शोक बिदा

कार्तिक ३० २०८१, शुक्रबार

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएपछि उक्त नगरपालिकाले शोक बिदा दिएको छ ।

दुर्घटनामा नगरपालिकाका अमिन वीरेन्द्रसिंह रावल, गोकुलेश्वर क्याम्पसमा कार्यरत मीना लेखक र दिलिपसिंह विष्टको मृत्यु भएपछि शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए । ‘नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयमा ३० कात्तिक (आज) शोक बिदा दिइएको छ,’ उनले भने ।

दुर्घटनामा रावल, लेखक र विष्टसहित शैल्यशिखर–५ की २८ वर्षीया शान्ति रावल, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा, ४५ वर्षीय वीरेन्द्र बोहरा, भारतको उत्तर प्रदेश बस्ने मोहम्मद सालिर र मोहम्मद बसिमको पनि मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार घाइते भएका पाँच जनालाई हेलिकोप्टरमार्फत् कैलालीको धनगढी पुर्याइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् जिप दुर्घटनामा घाइते भएका चालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर नगरपालिका–७ का सन्दिप रावल, शैल्यशिखर नगरपालिका–५ का २२ प्रकाशसिंह डागा, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–४ का उत्तम रोकाया र भारतीय नागरिक सोहिन शाहलाई धनगढी पठाइएको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो ।