• मंसिर १२ २०८१, बुधबार

गौशाला धर्मशालाको जग्गामा मारवाडीको मोहियानी हक नलाग्ने सर्वोच्चको फैसला

कार्तिक २९ २०८१, बिहीबार

कात्तिक २९ ,काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले भोग गर्दै आएको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गत असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर्याएको छ ।

समितिले धर्मशालाको जग्गामा आफ्नो मोही हक दाबी गरे पनि सो जग्गामा मोही रहेको तथ्य अस्वीकार गरिएको फैसलामा उल्लेख छ । ‘साविकदेखि पशुपतिरगौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको देखिँदैन ।

सो तथ्यलाई वादी मारवाडी सेवा समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिन्छ,’ फैसलामा भनिएको छ ।

फैसलामा जग्गा पशुपति अमालकोट कचहरीमा दर्ता भएको गुठीको जग्गा भन्ने तथ्यमा विवाद नदेखिए पनि श्री पशुपतिनाथ अमालकोट कचहरीबाट मोही दर्ता भई मोही दर्ताको प्रमाणपूर्जा प्राप्त गरेको भनी सोको छायाप्रति पेस गरी सो दर्ता अभिलेखमा दाबीको जग्गाको मोही महलमा पशुपतिरगौशाला धर्मशाला रहेको तथ्यलाई मुख्य आधार लिएको देखिएको उल्लेख छ ।