काठमाडौं । ब्रिटेनको चर्चित अखबार ‘द गार्डियन’ले सामाजिक सञ्जाल ट्विटर (हाल एक्स) मा कुनै पनि पोस्ट नगर्ने भएको छ । गार्डियनले भनेको छ, ‘अब सामाजिक सञ्जाल एक्समा कुनै पनि पोस्ट गरिने छैन ।’
आफूले पोस्ट नगरे पनि अन्य प्रयोगकर्ताहरूले आफ्ना सामग्री भने एक्समा पोस्ट गर्न सक्ने पनि गार्डियनले स्पष्ट पारेको छ । उसले भनेको छ, ‘हाम्रो आधिकारिक एडिटोरियल एकाउन्टबाट एक्स (ट्विटर) मा पोस्ट गर्न बन्द गरेका छौँ । तर, एक्सका प्रयोगकर्ताहरूले हाम्रा रिपोर्टहरू शेयर गर्न सक्छन् ।’
द गार्डियनले यस्तो निर्णय लिनुको पछाडिको कारण पनि खुलाएको छ । उसले भनेको छ, ‘हामीलाई के लाग्छ भने एक्स (ट्विटर) मा अहिले धेरै नकारात्मकता फैलिएको छ । हामी आफ्नो पत्रकारितालाई थप प्रवद्र्धन गर्न संसाधनहरूका राम्रोसँग प्रयोग गर्न सक्छौँ ।’
अखबारले यसबारेमा लामो समयदेखि विचार गरिरहेको पनि जनाएको छ । किनकि एक्स (ट्विटर) मा ज्यादातर रूपमा हैरान गराउने सामग्री (कन्टेन्ट) पाइने उसले बताएको छ, जसमा अति दक्षिणपन्थी प्रोपोगान्डा तथा नश्लवादसँग जोडिएका सामग्री पनि हुने समाचारमा उल्लेख छ ।
बीबीसीले द गार्डियनलाई उद्धृत गर्दै लेखेको छ, ‘एक्स (ट्विटर) एक विषाक्त प्लेटफर्म हो भन्ने अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ । यसका मालिक एलन मस्कले राजनीतिक वातावरणलाई प्रभावित पार्न यसको प्रयोग गर्न सक्छन् ।’