• मंसिर ११ २०८१, मंगलवार

माओवादी सत्ता र सडक दुवैतिर रहेको प्रचण्डको दाबी

कार्तिक २८ २०८१, बुधबार

२८ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी अहिले सत्ता र सरकार दुवैतिर रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै हुन सक्ने पनि बताएका हुन् ।

बुधबार कान्तिपुर मिडिया गुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४’ अन्तर्गत ‘प्रचण्डपथ : सडक कि सत्ता ?’ विषयक सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले सडक र सत्ता दुवैतिर रहेको बताएका हुन् ।

‘हाम्रो सत्ता पनि हो सडक पनि । एकदम क्लियर । सत्ता र सडक दुइवटै हो’, अध्यक्ष प्रचण्डको भनाइ छ ।

उनले माओवादी केन्द्र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षको हैसियतमा रहेको भन्दै त्यो पनि एउटा सत्ता भएको बताए ।

‘सैद्धान्तिक रूपमा वेटिग गर्भमेन्ट हो माओवादी । १२२ वटा पालिका छन् हाम्रो नेतृत्वमा । त्यो पनि सत्ता हो ।

अहिलेको संविधानले स्थानीय तहलाई पनि सरकार वा सत्ताका रूपमा मानेको छ’, प्रचण्डले थप भने, ‘र, सरकारले संविधान र लोकतन्त्र विरोधी जनविरोधी क्रियाकलाप गर्याे भने हामी खबरदारी गर्छौं ।

मैले प्रमुख प्रतिपक्षको हैसियतले सदनमा खबरदारी गरेको सबैले सुनेको स्थिति छ । अव सात ५३ वटै पालिकामा खबरदारी गर्दैछाँै । त्यसकारणले सडकमा पनि छौँ ।’

तर अहिले माओवादी सत्ताको खेलमा नलाग्ने प्रचण्डले बताए । त्यसक्रमा प्रचण्डले भेडा र सिंहको कथा सुनाउँदै आफूहरू पनि केही समययता भेडासँग हिँडेकाले अलिअलि भ्या भ्या गर्न लागेको तर अव नगर्ने विचार रहेको बताए ।

प्रचण्डले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै भएको पनि बताए । ‘लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता होइन, हुन सक्दैन’, प्रचण्डको भनाइ छ ।

लोकतन्त्रको थप विकास र परिमार्जन गर्नुपर्ने बेला आएकोप्रति सहमति जनाउँदै उनले लोकतन्त्र सधैँ प्रश्नको घेरामा रहने भन्दै त्यसो भएन भने लोकतन्त्रको विकास पनि नहुने बताए ।

‘नेपालको लोकतान्त्रिक व्यवस्थाले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न नसकेको सत्य हो । तर यसको विकल्प छैन’, प्रचण्डको भनाइ छ ।