काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।
अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा बुधबार किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिब महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी जलवायु प्रभावमा परेको बताएका हुन् ।
पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरूको आफ्नै कारणले नभई त्यो त द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरूले गरेको कार्वन उत्सर्जनका कारण भएको उनको भनाइ थियो । ‘उनीहरूलाई जलवायु न्याय दिनमा कोप–२९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ,’ उनले भने ।
जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्दो रहेको र त्यसले नयाँ रेकर्ड कायम गर्दै गएको बताउँदै उनले त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको बताए । गत अगस्टमा नेपालको सगरमाथा क्षेत्रमा हिमताल फुट्दा थामे गाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानिनोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उनले गत मनसुन सिजनमा आएको बाढीपहिरोमा नेपालका पाँच सयभन्दा बढी नागरिकले जीवन गुमाउनुपरेको बताएका थिए ।
उनले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका असर र प्रभाव पनि समान रहेको बताए । नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा पनि सँगै काम गरेको अनुभव रहेको उनले स्मरण गरे ।
अजरबैजानको बाकुमा २६ कात्तिकदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २(औँ सम्मेलनअन्तर्गत राष्ट्रपति पौडेलले मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।