काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलन स्थगित गरेको छ ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेपछि गर्ने भनिएको पत्रकार सम्मेलन रास्वपाले अन्तिम समयमा स्थगित गरेको हो । दोस्रो चरणको आन्दोलन घोषणा गर्ने कार्यक्रम स्थगित गर्नुको कारण रास्वपाले खुलाएको छैन ।
रास्वपा नेताहरूका अनुसार, आन्दोलन नरोक्न सभापति लामिछानेले नै भनिरहेका छन् । सोहीअनुसार रास्वपाले सभापति पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरिरहेको छ ।
स्रोतका अनुसार आगामी आन्दोलनको स्वरुपबारे स्पष्ट हुन नसकेपछि रास्वपाले पत्रकार सम्मेलन स्थगित गरेको हो । घण्टीघर स्रोतले भन्यो,‘दोस्रो चरणको आन्दोलन भनेको के अनि कसरी गर्ने भन्ने कुरा नै प्रष्ट भएको छैन । त्यसैले अर्को सूचना नआउँदासम्मलाई पत्रकार सम्मेलन स्थगित गरिएको हो ।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि सभापति लामिछाने २ कात्तिकमा पक्राउ परेदेखि नै रास्वपाले आन्दोलन गर्दै आएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन बारे अनुसन्धानका लागि उनलाई २ कात्तिकमा बिहान जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । त्यसयता जिल्ला अदालत कास्कीबाट ४ पल्ट म्याद अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच ८ कात्तिकमा लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलनबारे अनुसन्धानका लागि हिजो मंगलबार लामिछानेलाई रुपन्देही र्पुयाइएको छ । भैरहवास्थित सरकारी वकिल कार्यालय हिजो उनीसँग मौखिक बयान लिएको थियो भने आज बुधबार लिखित बयान लिँदैछ ।
लामिछानेलाई बयानका लागि बुटवल र्पुयाउँदा पनि रास्वपा कार्यकर्ताले आन्दोलन गरेका थिए । अबको आन्दोलन थप चर्काएर लैजाने बताए पनि त्यसको स्वरुप कस्तो हुन्छ भन्नेबारे रास्वपाले प्रष्ट्याएको छैन ।