• मंसिर १२ २०८१, बुधबार

राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी, आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै

कार्तिक २८ २०८१, बुधबार

अजरबैजान ।   राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा अजरबैजानको बाकुमा आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्ने छन् ।

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’ माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ ।

कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

राष्ट्रपति पौडेलले भने, ‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले मनन गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने वास्तविकता विश्वले बिर्सन हुँदैन ।’

यसपटक नेपाल ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा राष्ट्रपति पौडेलको नेतृत्वमा सहभागी भएको छ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु पुगेका हुन् ।