• मंसिर १२ २०८१, बुधबार

पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कार्तिक २७ २०८१, मंगलवार

२७ कात्तिक, काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन् ।

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए ।

तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) गरेको थियो । उनीहरूलाई बिचौलियाहरु धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजालले पठाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।