काठमाडौँ । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन् । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप मानिने वर र पिपलको पनि पूजा गरिने प्रचलन छ ।
घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।