• मंसिर ११ २०८१, मंगलवार

सिरहा कारागारमा मदिरा सेवन र अवैध लागुऔषध कारोबार घटनाको छानबिन गर्न समिति गठन

कार्तिक २५ २०८१, आईतवार

सिरहा, कात्तिक २५ । सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।

प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहनेगरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । उनका अनुसार समितिले सोमबारदेखि काम सुरू गर्नेछ ।

छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ । छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने प्रजिअ दाहालले बताए ।

केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरूले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटनामा सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

यस्तै, कारागारमा लागूऔषध उपलब्ध हुनेगरेको तथ्य पनि खुलेको थियो । यसअघि शनिबार कारागारमा सिरहाका प्रजिअ दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन दिएको थियो ।