वर्ष १९६० सिरिमावो बन्दरानायके श्रीलङ्काको पहिलो महिला प्रधानमन्त्री भइन् । सन् १९६६ इन्दिरा गान्धी भारतको पहिलो महिला प्रधानमन्त्री भइन् । सन् १९६९ मा गोल्डा मीर इजरायलको पहिलो महिला प्रधानमन्त्री भइन् । सन् १९७९ मार्गरेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री भइन् । सन् १९८८ बेनजिर भुट्टो पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री भइन् । महिलालाई सबैभन्दा शक्तिशाली पदमा राख्ने देशको सूची निकै लामो छ ।
विगत ६० वर्षमा ६० भन्दा बढी देशले महिला राष्ट्रपति वा प्रधानमन्त्री निर्वाचित गरेका छन् । अचम्मको कुरा के छ भने संसारको सबैभन्दा शक्तिशाली लोकतान्त्रिक देश अमेरिकाले अहिलेसम्म यो गर्न सकेको छैन । अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा दोस्रो पटक महिला राष्ट्रपतिको उम्मेदवार बनेको यो घटना हो ।
सबैभन्दा पहिले २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवार थिइन् भने यस पटकको चुनावमा कमला ह्यारिस ! तर, अमेरिकाको २३ दशक पुरानो राजनीतिक इतिहासमा किन कुनै महिला राष्ट्रपति बन्न सकेका छैनन् ? राष्ट्रपति निर्वाचनको इतिहासले ती महिलाहरूको कथाहरू बताउँछ जो कहिलेकाहीँ राष्ट्रपति बन्ने सपना देखेर जेलमा परेका थिए । कहिलेकाहीं उनीहरूले परमाणु बटन थिच्न सक्षम हुनेछन् कि भनेर सोधेका पनि थिए ।
अमेरिकी महिला नेता, भिक्टोरिया क्लाफिन वुडहल राष्ट्रपतिको उम्मेदवारीको लागि आफ्नो अधिकार व्यक्त गर्ने पहिलो थिइन् । वुडहलको जन्म १८३८ मा एउटा परिवारमा भएको थियो । उनले जादुई औषधि बेच्ने दाबी गर्दै एक शहरबाट अर्को शहरमा यात्रा गर्थिन् । तर, ती औषधिहरूमा मदिराबाहेक केही थिएन । वुडहलको उमेर ३४ वर्ष मात्र थियो । जबकि अमेरिकामा चुनाव लड्ने उमेर ३५ वर्ष तोकिएको थियो ।
उनले चुनाव लड्न सकिनन्, तर वुडहललाई घृणा गर्ने नेताहरूले उनलाई पक्राउ गरे । उनलाई अश्लिलताको प्रचार गरेको आरोप लगाएर दुःख दिए ।
मार्गरेट चेस स्मिथ एक प्रमुख पार्टीबाट उनको राष्ट्रपति उम्मेदवार घोषणा गर्ने पहिलो महिला थिइन् । मार्गरेटलाई उनको पति क्लाइड स्मिथबाट राजनीति विरासतमा प्राप्त भयो । क्लाइड रिपब्लिकन पार्टीका एक ठूला नेता थिए । सन् १९४० मा उनको मृत्यु भयो ।
सन् १९६४ मा उनले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा आफ्नो नाम अगाडि बढाइन् । रिपब्लिकन पार्टीकी महिला नेताले यो पदका लागि दाबी गरेको यो पहिलो पटक हो । मार्गरेट चेस स्मिथले एक भाषणमा भनेकी थिइन्, ‘कतिपय मानिसलाई लाग्छ कि महिलाले ह्वाइट हाउस पुग्ने चाहना गर्नु हुँदैन । यो मान्छेको संसार हो ।’
जसरी मार्गरेटले राष्ट्रपतिका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरिन्, त्यो दिन वाशिंगटन पोस्टका पत्रकारले उनको अभियानलाई गैर–गम्भीर घोषणा गरे । अन्य रिपब्लिकन उम्मेद्वारहरूसँग प्रतिस्पर्धा गर्न मार्गरेटसँग पर्याप्त पैसा थिएन । अभियानका क्रममा उनले भनेकी थिइन्, ‘नारी पनि मानव नै हुन् । आशा छ जनताले मलाई भोट दिनेछन् ।’ तर, उनले चुनाव हारिन् ।
मार्गरेट आफ्नो समयको एक प्रसिद्ध नेता थिइन् । उनी सोभियत संघमा वामपन्थीको कडा आलोचनाका कारण परिचित थिइन् । सोभियत संघको सर्वोच्च नेता निकिता ख्रुश्चेभले भनेका थिए, ‘मार्गरेट महिलाको रूपमा एक शैतान हो ।’
शार्ली चिसोल्म डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने पहिलो महिला थिइन् । उनी सन् १९६८ मा न्यूयोर्कबाट सांसद निर्वाचित भएकी थिइन् । यसरी यो उपलब्धि हासिल गर्ने उनी देशकै पहिलो अश्वेत महिला बनिन् ।
सन् १९८४ को कुरा हो । एक महिला संगठनले लोकतान्त्रिक पार्टीका राष्ट्रपतिका उम्मेदवार मोण्डेललाई उम्मेदवार बनायो । महिला राष्ट्रपतिको उम्मेदवार पनि निर्वाचित हुने समय छिट्टै आउने धेरैलाई लागेको थियो । तर अमेरिकी जनताले मोन्डेलको स्थानमा रिपब्लिकन पार्टीका रोनाल्ड रेगनलाई निर्वाचित गरे । समयक्रमसँगै फेरारो नाम गरेकी महिला पनि रााष्ट्रपतिको उम्मेदवार बनिन् । तर निर्वाचित हुन सकिनन् । महिला राष्ट्रपति हुने आशा ओझेलमा परे ।
अमेरिकी पत्रकार एलन माल्कमका अनुसार चुनावी अभियानका क्रममा फेरारोले सोधेका प्रश्नले अमेरिका महिलालाई शक्ति दिन तयार नभएको प्रमाणित गर्न पर्याप्त थियो । त्यही समयमा, एक बहसको क्रममा, रिपब्लिकन पार्टीका उप–राष्ट्रपति उम्मेद्वार जर्ज बुसले फेरारोलाई गाली गर्दै भनेका थिए, ‘मिस फेरारो, मैले तपाईलाई इरान र लेबनानको दूतावासमा के भिन्नता छ भनेर बुझाउनु पर्छ ।’ बुशको बयानबाट फेरारो क्रोधित भइन् र उनी महिला भएको कारणले उनलाई यस्तो भनिएको कुरा स्पष्ट पारिन् ।
यो निर्वाचनपछि डेमोक्रेटिक र रिपब्लिकन पार्टीका नेताहरूमा महिलाप्रतिको विश्वास घट्यो । अमेरिकामा एक महिलालाई उपराष्ट्रपति बन्न २२७ वर्ष लागेको थियो । अबका दिनमा अमेरिकामा लैंगिक सशक्तिकरण र कार्यकारीको कुरा जोडतोडले उठ्ने देखिन्छ ।