कात्तिक २५, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले निरन्तर तरलता तानिरहेको छ । चार दिन अघि कात्तिक २१ गते निक्षेप संकलन उपकरणमार्फत् एक खर्ब रुपियाँ तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले आज फेरि ५० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको हो ।
आइतबार केन्द्रीय बैंकले निक्षेप संकल उपकरणको माध्यमबाट २१ दिनका लागि ५० अर्ब रुपियाँ प्रशोचन गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
पछिल्लो तथ्यांक अनुसार कात्तिक २० गतेसम्म बैंकहरुले ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा सोही अवधिमा यता जम्मा ५२ खर्ब ७५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गर्न सकेका छन् ।
समीक्षा अवधिमा ७८.१६ प्रतिशत कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ७ खर्ब रुपैयाँ बढी लगानीयोग्य पुँजी (तरलता) रहेको छ । तर कर्जाको माग नै नहुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको हो । सोही निरन्तरता स्वरुप केन्द्रीय बैंकले पछिल्लो पटक २१ दिनका लागि थप ५० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत् तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत् तरलता प्रशोचन गर्नेगर्छ ।