• मंसिर ११ २०८१, मंगलवार

यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपाल यूएईसित पराजित

कार्तिक २४ २०८१, शनिबार

कात्तिक २४, काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को अजमानस्थित द सेभेन रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली यूएईले नेपाललाई १३ रनले हराएको हो ।

यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । नेपालका निम्ति कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा पाँच चौकाको मद्दतले ४८ रन जोडेकी हुन् ।

यस्तै, साना प्रवीण र सोनी पाख्रिनले समान १९–१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले सात र एलिसाकुमारी यादवले तीन रन जोडे । यो खेलमा नेपालले अतिरिक्त तीन रन पायो ।

यूएईका निम्ति इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान एक–एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको थियो । यूएईका निम्ति रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा पाँच चौका र दुई छक्कासहित ४८ रन जोडेकी हुन् ।

यस्तै, लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले आठ, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए । ऋषिता राजित र अवनी सुनिल पाटिलले समान नौ–नौ रन बनाए । यूएइले अतिरिक्त १० रन प्राप्त गर्याे ।

नेपालका निम्ति रिया शर्माले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान एकरएक विकेट लिए ।

एसिया छनोटमा नेपालको यो पहिलो हार हो । नेपालले यसअघि दुई खेल जितेको थियो । पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

नेपालले आइतबार (भोलि) थाइल्यान्डसँग चौँथो खेल खेल्नेछ । छनोट खेलमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चारमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।