• मंसिर १२ २०८१, बुधबार

१४ वर्षीया छात्रा बलात्कार आरोपमा निजी विद्यालयका सञ्चालक पक्राउ

कार्तिक २२ २०८१, बिहीबार

कात्तिक २२, दाङ । १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक जना निजी विद्यालय सञ्चालक पक्राउ परेका छन् ।

गत कात्तिक १४ गते नेपालगञ्जको एक होटलमा लगेर विद्यालय सञ्चालकले छात्रालाई बलात्कार गरेको आरोप छ । बलात्कार आरोपमा कोहलपुर नगरपालिका वडा नम्बर २ का ४२ वर्षीय विद्यालय सञ्चालक पक्राउ परेका छन् ।

छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर आफूमाथि विद्यालय सञ्चालकले बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

जाहेरी आएपछि आरोपित व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन चापागाईंले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै कोहलपुर नगरपालिका २ बर्दहवाका २४ वर्षीय सन्दीपकुमार थारू पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा थारूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गत कात्तिक १९ गते राति करिब ११ बजेतिर खेतमा पुर्याएर आफूलाई बलात्कार गरेको युवतीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टराईका अनुसार बुधबार जाहेरी आएपछि थारूलाई पक्राउ गरिएको बताए । यस घटनामा पनि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।