काठमाडौं । नेपालमा मनसुनी वायु बाहिरिएसँगै वायु प्रदुषणको दर बढ्न थालेको छ । दैनिक प्रदुषणको मात्रा बढ्दै गए पनि सरकारले भने ध्यान दिएको पाइदैन । वायु प्रदुषण बढ्दा जनस्वास्थ्यमा परेको गम्भीर असरको विषयमा न सरकारको ध्यान गएको छ न चासो नै छ ।
विश्व बैंकको प्रतिवेदनको आधारमा हेर्दा पनि विश्वको वायु प्रदुषणको अति खराब देशको सूचीमा एसियामा १० वटा शहरमध्ये नेपालको राजधानी काठमाडौं उपत्यका पनि छ । मनसुनी बादल बाहिरिएसँगै नेपालमा पाहुना वायु–प्रदुषण आउने गरेको छ । यो वर्ष पनि मनसुनी वायु बाहिरिएसँगै वायु प्रदुषणको दर बढ्न थालेको छ । पछिल्लो तथ्यांक हेर्दा नेपालको राजधानी काठमाडौं शहर अति खराब वायु भएको टप १० मा नै परेको छ । कहिलेकाँही भने वायु प्रदुषणको रेकर्ड ब्रेक पनि भइरहेको छ ।
हामीले स्वास फेर्ने हावामा प्रदुषणको मसिना कण बढ्दै जान थालेको छ । जसले गर्दा बालबालिकादेखि बृद्ध नागरिकमा दम, स्वासप्रस्वास समस्या देखिन थालेको छ ।
हिउँदका महीनामा डढेलो, सवारीसाधन, इँटाभट्टा तथा औद्योगिक क्षेत्रबाट उत्पन्न हुने प्रदूषणका मसिना कणले देशका मुख्य शहरलाई छोप्न थालेको छ । कचौरो आकारमा बसेको राजधानीबाट हावा प्रवाह राम्रोसँग बाहिर जान नपाउँदा प्रदुषित हावा यही जम्न पुग्छ जसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ । पाकिस्तान र दक्षिण भारतबाट बगेर आउने प्रदुषित हावा होस् या राजधानीमा सवारीसाधनबाट निस्कने प्रदुषित हावाले उपत्यका ढपक्क छोप्न थालेको छ । दक्षिणी भारतमा वायु प्रदुषण बढ्न नदिनका लागि दिपावलीमा पट्का, आकाशवाजीमा प्रतिबन्ध लगाएको भएपनि त्यहाँको हावा विषाक्त बनिरहेको छ । त्यो प्रदुषित भएको हावा बग्दै नेपालसम्म आइपुग्छ साथै काठमाडौं थप प्रदुषित बन्न पुग्ने, वातावरणविद् नमन अधिकारी बताउँछन् ।
त्यसो त काठमाडौंको हावा कतिको प्रदुषित छ भनेर जाँच गर्नका लागि गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं रामशाहपथमा सबैले देख्ने गरेर एउटा कृतिम फोक्सो राखेको थियो । रामशाहपथ भएर हिड्ने जो सुकैले देखिनु भन्ने उद्देश्यले कृतिम फोक्सो राखियो । त्यो फोक्सो ’हाई–इफिशेन्सी पार्टिक्यलट एअर’ (एचईपीए) फिल्टरबाट बनेको थियो । एचईपीए फिल्टर भनेको विभिन्न तह भएको हावा छान्ने यान्त्रिक फिल्टर हो । सो कृतिम फोक्सोले जसरी मानिसको फोक्सोले धुलो, परागकण, ढुसी, वायुमो प्रसारित हुने ०.३ माइक्रोन आकारको कण छान्न सक्छ त्यसरी नै छान्न सक्ने गरी बनाइएको थियो । त्यसरी कृतिम बनाएर राखिएको सो फोक्सो १५ दिन पुग्दा नपुग्दै कालोमा परिणत भयो । सो कृतिम फोक्सो हेरेर विज्ञहरुले त्यतिबेला निकै चिन्ता व्यक्त गरेका थिए । काठमाडौंको मुटुमा रहेको रामशाहपथमा १५ दिनको अवधिमा जसरी फोक्सोले हावा छान्न नसक्ने अबस्थामा पुग्नुले उपत्यकामा हिड्ने मानिसको फोक्सोले कुन अबस्थाको सामना गरिरहेको रहेछ भन्ने देखाउन विज्ञहरुको भनाई छ ।
विगतमा जस्तै मनसुन बाहिरिएसँगै प्रदुषणको लेभल ह्वात्तै बढिरहेको छ । अझै चिसो मौसम लागेपछि प्रदुषणको मात्रा झनै बढ्ने वातावरणविद्हरुको भनाई छ । चिसो बढ्दै जाँदा गाउँघर र शहरमा समेत आगो बालेर ताप्नेको संख्या बढ्दा प्रदुषणको मात्रा झनै बढेर जाने वातावरणविद् अनिल महतो बताउँछन् । दाउरा र अन्य वस्तु बाल्दा त्यसबाट निस्कने प्रदुषित हावाले वातावरणमा थप धुमिल बनाइदिन्छ । त्यसमा पनि भारतको उत्तर प्रदेश र बिहारमा जाडो याममा धानका ठूटा, पराल आदि बाल्ने चलन छ । जुन हावा बगेर काठमाडौंसम्म आइपुग्छ । एक त काठमाडौं पहाडै पहाडले घेरिएको शहर त्यसमा हावाको प्रवाह राम्रोसँग बग्न नपाउँदा वातावरण थप धमिल हुन जाने र प्रदुषणको दर झनै बढ्ने वातावरणविद् महतोको भनाई छ ।
एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरुपमा बुझाउँछ । एक्युआई जति बढ्दै गयो उति घातक मानिन्छ। एक्युआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ ।
विश्व स्वास्थ संगठनको मापदण्डअनुसार, एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्युआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । एक्युआई २०१ भन्दा माथि पुगेमा धेरै अस्वस्थकर हुने मानिन्छ । तर, यो ३०१ भन्दा माथि पुगेमा भने वायु प्रदूषण डरलाग्दो र धेरै घातक हुने मानिन्छ । गत विहीबार र शुक्रबार काठमाडौं उपत्यकाको एक्युआई २०० भन्दा माथि रहेको देखिन्छ । काठमाडौ लगायत देशभर चिसो विस्तारै बढ्दै छ । चिसो बढेसँगै वायुको स्तर पनि खस्किरहेको तथ्यांकले देखाउँछ । चिसो मौसममा जमीनको सतह नजीकै चिसो हावाको एक तह बन्छ । यसलाई ढकनीले जस्तै तातो हावाको तहले छोपिदिन्छ, जसका कारणले प्रदूषण मिसिएको हावाको बहाव थुनिन्छ । सूर्यको प्रकाश धमिलो बन्न जाँदा जमिनको एक तहमाथि सम्म प्रदुषित हावा जमेर बस्ने गर्छ । जसले गर्दा चिसो मौसममा विहान मर्निङ वाक गर्दा काठमाडौं उपत्यकामा खतरा रहेको विज्ञहरुको भनाई छ ।
प्रदुषणले नेपालमा बर्सेनि ४२ हजार हाराहारीको मृत्यु
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष निकाल्ने प्रतिवेदनअनुसार नेपालमा ४२ हजार हाराहारीमा मानिसको मृत्यु हुने गरेको तथ्यांक निकाल्ने गरेको छ । जसबाट वार्षिक ३ खर्बभन्दा बढी नोक्सानी हुने गरेको देखिएको छ । विश्व बैंकको प्रतिवेदनले एसियामा वायु प्रदूषण अति खराब रहेका विश्वका १० सहरमध्ये ९ सहर पर्ने उल्लेख छ ।
तर सरकार, गैरसरकारी संस्था तथा सरोकारवाला निकायले भने वातावरणको प्रदूषण रोक्ने विषयमा वास्ता गरेका छैनन् ।
मनसुनको समयमा वर्षा हुने भएकाले केही मात्रामा भए पनि धुलोको मात्रा कम हुने देखिन्छ । तर, मनसुन रोकिएपछि मौसम सुक्खा हुँदै जाने भएकाले धूलो र धुवाँको मात्रामा वृद्धि हुँदै जान्छ । जसका कारण वातावरणमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएका प्रदूषणका कणहरू हावामा फैलन जान्छन् । जसका कारण त्यसले मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव पार्न जान्छ ।
जानकारहरूका अनुसार हावामा फैलिने हानिकारक प्रदूषणका कण पीएम २ दशमलव ५ को मात्रा ४० भन्दा कम रहनुपर्छ । तर, यस वर्षको मनसुन सकिएको पछिल्लो एक सातामा मात्रै राजधानीको हावामा प्रदूषणको मात्रामा गुणात्मक वृद्धि हुन पुगेको छ । जसका कारण अस्पतालमाहरूमा श्वासप्रश्वासका बिरामीको मात्रासमेत बढेको छ ।
मानवीय क्षति र त्यसले निम्त्याउने आर्थिक सामाजिक नोक्सानी कम गर्ने उपाय रहेको तर त्यसका लागि स्वच्छ वायु अनिवार्य रहेको जनाइएको छ । ‘आर्थिक रूपमा स्वच्छ वायुको विकल्प प्राप्त गर्न सकिन्छ तर त्यसका लागि यो क्षेत्रका देशले नीतिगत र लगानीका क्षेत्रमा सहकार्य गर्नुपर्छ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ । जनघनत्व अत्यधिक भएका दक्षिण एसियाका सहर, त्यसमा पनि गरिबको बसोबास रहेको क्षेत्रको वायुमण्डलमा मसिना धुलोका कण (पीएम २ दशमलव ५) विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (५ माइक्रोग्राम प्रतिघनमिटर) भन्दा २० गुणासम्म बढी रहेको पाइएको छ ।
कानुन कार्यान्वयनमा सरकार उदासिन
सरकारले वायु प्रदषणको मापदण्डसम्बन्धी निर्देशिका बनाएको लामो समय भयो । तर, सो निर्देशिका कार्यान्वयनमा सरकार उदासिन छ । सरकारले आर्थिक वर्ष २०६५/०६६ देखि पेट्रोल तथा डिजेलबाट प्रदूषण नियन्त्रणका लागि भन्दै वर्षेनी प्रदुषण कर उठाउँदै आइरहेको छ । ०६५ देखि २०८१ सम्म आइपुग्दा झण्डै १८ अर्ब रुपैयाँ प्रदुषण कर उठिसकेको छ । तर, राज्यले प्रदुषण न्यूनिकरणको काममा खर्च गर्न सकिरहेको छैन । प्रदूषण नियन्त्रणका लागि वातावरण संरक्षण ऐन २०७६ ले व्यवस्था गरे अनुसार वातावरण संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण, जलवायु परिवर्तन व्यवस्थापनका लागि बेग्लै वातावरण संरक्षण कोष रहेको तर त्यसलाई खर्च गर्ने प्रभावकारी संयन्त्र बनेको छैन । सर्वोच्च अदालतले वि. स. २०६१ सालमा यसको लागि छुट्टै कोषको स्थापना गर्न निर्देशन दिएको थियो । सोही अनुरुप पैसा जम्मा गरिए पनि सो रकम खर्च भने भएको छैन ।
प्रदूषणको स्रोत
उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धुलोबाट २५ प्रतिशत प्रदूषण फैलने गरेको छ । त्यसैगरी, फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुने अध्ययनले देखाएको छ ।