कुनै पनि परिकार पहिले आँखाले नै देख्छ। अनि राम्रो लागेमा जिब्रो रसाउँछ, मुखमा र्याल आउँछ। यो कुरा रंगीबिरंगी मिठाईमा झनै लागू हुन्छ।
किन्दा इन्द्रीय आँखाले ‘यो खाऊ भनेर माग्छ र किन्छौं आँखालाई के थाहा उपयुक्त छ कि छैन, स्वाद जिब्रोले थाहा पाए पनि शुद्ध र गुणस्तर त पछि शरीरले थाहा पाउने हो। रंगको चाड होली भए पनि रंगको बढी चर्चा तिहारमा हुनेगर्दछ।
तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च छ। चिनीले तत्कालै शक्ति दिनेबाहेक कुनै फाइदा दिँदैन तथा स्वास्थ्यका लागि उपयुक्त हुँदैन। ग्लुकोजको रसायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोषकोषमा बस्छन।
जस्ले एकातिर भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्काेतिर इन्सुलिन बढाई ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ र इम्युनिटी घटाउँछ।
इन्सुलिनले शरीरमा ट्राइग्लेसेराइडको मात्रा बढाउँछ। बोसो भण्डारण गर्छ जस्ले मुटु धमनीका रोगहरू, उच्च रक्तचाप बनाउन सक्छ। धेरै वा पटक पटक चिनी वा गुलियो परिकार खानेमा चाँडै नअघाउने, पटकपटक खाइरहने बानी हुन्छ। मोटोपना, खनिज तत्त्वको सञ्चित र भण्डारणमा कमी ल्याउँछ। शिशुहरूमा दाँतको समस्या देखिन्छ।
अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसन ल्याउँछ। मिर्गौलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हडडी खिइने, टाउको दुख्ने, माइग्रेन समस्या हुन्छ। आजकल त झनै चिनी महँगिएका कारण चिनीभन्दा पाँच सय गुणा बढी गुलियो रसायन स्याकरिनको प्रयोग बढ्दो छ।
सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकोले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु दुई साता अघिदेखि नै बनाइन्छ। मिठाई बनाउँदा धेरै समयसम्म पकाईने भएकाले कीटाणु आगोको तापसँगै मर्छन् तथापि अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ।
झिंगा, किरा लागि संक्रमित बनाइरहेका हुन्छन्। विभिन्न प्रकारका खाद्यरंग बढी मात्रामा तथा अखाद्य रंगहरू तथा एडेटिभ, पिर्जरभेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा तत्कालै त केहीमा पछि स्वास्थ्यमा असर पार्दछ।
मिठाईमा खुवाको खपत बढी हुने भएकोले मुनाफा कमाउन खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउँछन् जस्ले पेटमा खराबी पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, बान्ता आउने, हैजा लाग्नेसम्म हुन्छ।