• मंसिर ११ २०८१, मंगलवार

नागढुङ्गा सहकारीको झण्डै पाँच करोड हिनामिना, कोषाध्यक्ष शर्मा पक्राउ

कार्तिक १६ २०८१, शुक्रबार

कास्की । पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु. पाँच करोड हिनामिना भएको छ ।

ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु. चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् ।

तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।

सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन् ।

कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।