लगातार धेरै मात्रामा रक्सी पिउने व्यक्तिहरूको कलेजो सुक्न थाल्छ र लिभर सिरोसिस हुन्छ ।
लिभर सिरोसिस हुने मुख्य कारण रक्सी नै हो । कलेजो खराब भएर विषाक्त पदार्थ छान्न सक्दैन र त्यो विषाक्त पदार्थ शरीरभरि फैलिन थाल्छ । कलेजो सुकेपछि त्यसको रक्तनलीहरु सुनिन्छन् र पेटमा पानी भरिन थाल्ने, खाद्यनलीका रक्तनलीहरू फुल्ने र रगतको उल्टी हुने लगायतका समस्या निम्तिन सक्छ ।
प्यान्क्रियाज गन्थ्रिले हाम्रो पाचन प्रणालीलाई सहयोग गर्छ र शरीरमा सुगरको मात्रा सन्तुलन गर्छ । खानेकुरा पाचनपछि बनेको ग्लुकोज शारीरिक कोषमा पुर्याउन आवश्यक इन्सुलिन पैदा गर्ने काम यसले नै गर्छ । तर, जब लामो समय रक्सी सेवन गरिन्छ त्यसले प्यान्क्रियाजलाई हानि गर्छ र ‘एक्यूट प्यान्क्रियाटाइटिस’ (प्यान्क्रियाज सुन्निने समस्या) निम्त्याउन सक्छ । यस्तो समस्या भएमा पाचन प्रणालीमा समस्या हुने, इन्सुलिन पैदा नभएर सुगरको मात्रा बढ्ने लगायतका अन्य विभिन्न समस्या निम्तिन्छ ।
लामो समयदेखि ग्यास्ट्राईटिसको समस्या भएको व्यक्तिले रक्सी सेवन गर्दा पेट, आमाशय र आन्द्रामा तत्कालीन र दीर्घकालीन रूपमा धेरै समस्या निम्तिन सक्छ । त्यति मात्र हैन लामो समय रक्सी सेवन गर्दा मुख, घाँटी, खाद्यनली, ठूलो आन्द्रा, कलेजो र प्यान्क्रियाज लगायतको क्यान्सर निम्तिन सक्छ ।