• मंसिर १२ २०८१, बुधबार

बाढी प्रभावित बालबालिकालाई एनसेलले गर्यो शैक्षिक सामग्री वितरण

कार्तिक १४ २०८१, बुधबार

काठमाडौं । एनसेलले बाढीबाट प्रभावित बागमति नदी र बल्खु क्षेत्र आसपासका पाँच सय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विपद् प्रतिकार्य योजना अनुसार कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

११ र १२ असोजमा परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा पर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्नो किताब, कापी लगायत आफ्ना शैक्षिक सामग्री गुमाएका थिए ।

सीएसआर अन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसै अनुरुप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारलाई राहत वितरण गरेको छ ।

फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी, पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले हालै मात्र राहत वितरण गरेको छ ।

यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढि घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ ।

‘विगतमा पनि बाढी, पहिरो, भुइँचालो, कोभिडजस्ता विपद्मा प्रतिकार्य स्वरुप हामीले यथासक्य सहयोग र साथ दिएका छौँ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्,‘यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्य पालना गर्न प्रतिबद्ध छौँ ।’

फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीसहित प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यलाई राहत सामग्री वितरण गरेको हो ।

एनसेलले सीएसआर परियोजनाहरू सञ्चालन गर्न आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको हो । कम्पनीले सीएसआरअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।

कम्पनीले देशभर विभिन्न सामाजिक काममा २ अर्बभन्दा बढी योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रूपमा १ करोड ३० लाख भन्दा बढीलाई लाभ प्रदान गरिसकेको छ ।