काठमाडौँ । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी हुँदै गर्दा भयानक विस्फोटमा परिणत भएको छ । सो विस्फोटमा करिब एक सय जना अस्पताल भर्ना भएका छन् भने आठ जनाको अवस्था गम्भीर रहेको मंगलबार प्रहरीले जनाएको छ ।
भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाए अनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए ।
भिडियोमा त्यसपछि एउटा भवन भित्रबाट चर्को आवाज सुनिन्छ र एक शक्तिशाली आगोको गोला आकाशमा माथि उठ्छ ।
“करिब आठ जनाको अवस्था गम्भीर छ र करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्”, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भने, “उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए ।” द्यवैयाले फुटेका पटाकाका झिल्काहरू भण्डारण गरिएको पटाकासम्म पुगेको उनले बताए ।
भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् ।
स्थानीय सरकारी अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ ।
भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छ ।