• मंसिर ११ २०८१, मंगलवार

इरानमाथिको आक्रमण रोक्न इजरायललाई रुसको चेतावनी

कार्तिक १० २०८१, शनिबार

मस्को । इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि ती दुई देशबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेको शनिबार रुसले टिप्पणी गरेको छ ।

जवाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाइए तेहरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ इजरायलले चेतावनी दिएको छ । अमेरिका र बेलायत दुवैले द्वन्द्व थप नबढाउन इरानलाई आग्रह गरेका छन् ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यो क्षेत्रमा जारी विस्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताएका छन् ।

“हामी सबै पक्षलाई संयमित हुन, हिंसा रोक्न र घटनाहरूलाई विनाशकारी परिदृश्यमा परिणत हुनबाट रोक्न आग्रह गर्दछौँ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भनेका छन्, “इरानलाई प्रतिशोधी कदम चाल्न उक्साउने काम बन्द गर्न र अनियन्त्रित तनावको चक्रव्यूहबाट बाहिर निस्कन आवश्यक छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता उदीयमान राष्ट्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा दुई क्षेत्रीय शक्तिराष्ट्रबीचको तनावले मध्यपूर्वमा पूर्णयुद्ध निम्त्याउने खतरा रहेको बताएका थिए ।

“इजरायल र इरानबीच द्वन्द्वको स्तर ह्वात्तै बढेको छ । यो सबै शृंखलाबद्ध प्रतिक्रियाको सम्झना दिलाउँछ र यसले सम्पूर्ण मध्यपूर्वलाई पूर्णयुद्धको संघारमा र्पुयाउँछ,” रुसी राष्ट्रपति पुटिनले आफ्नो सम्बोधनमा भनेका थिए ।

इरानसँग मस्कोको घनिष्ठ सम्बन्ध छ । यो क्षेत्रमा सुरक्षा र आर्थिक हित र व्यापक द्वन्द्वका बारेमा रुसले व्यापक चिन्ता व्यक्त गरेको छ ।