कात्तिक १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् । माओवादी केन्द्रले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षको खबरदारीलाई सामान्य रूपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिए ।
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन सरकारलाई आग्रह गरे ।
देश कांग्रेस एमालेको बिर्ता नभएको उल्लेख गर्दै उनले सङ्ख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’–अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’
सरकारले ७० नम्बर ल्याएको प्रचार गरेकोप्रति प्रश्न गर्दै उनले भने– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’
पहिले एक्लै पार्टीको दुई तिहाइ भएको बेलामा संसद् भङ्ग गरेर प्रतिगमन गर्ने नेताले अहिले कांग्रेसको बैसाखी टेकेर दुई तिहाइको घमन्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो ।