नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा पनि प्रदर्शन गरेको छ । हकारी ठगी र संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका आफ्ना पार्टी सभापति रवि लामिछानेको पक्षमा रास्वपा कार्यकर्ताहरूले शनिबार दिउँसो चितवनको नारायणगढमा प्रदर्शन गरेको हो ।
उनीहरूले नारायणघाटको पुल्चोकमा दिउँसो आधा घन्टा राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका हुन् । राजमार्ग ठप्प हुँदा राजमार्ग हुँदै चल्ने सवारी साधनहरू रोकिएका थिए ।
रवि लामिछाने पक्राउ परेपछि उनीप्रति सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपा आन्दोलित छ । लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।
उनीविरूद्ध रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेलाई बयानका लागि अन्य जिल्लामा पनि लैजाने तयारी छ । रास्वपाले भने आन्दोलनलाई पोखराबाट काठमाडौंकेन्द्रीत गरेको छ । आन्दोलनको स्वरूपबारे आज बस्ने केन्द्रीय समिति बैठकले थप निर्णय गर्नेछ ।