• मंसिर १३ २०८१, बिहीबार

मीनबहादुरको भाटभटेनीको पर्खाल महानगरले भत्कायो

कार्तिक ९ २०८१, शुक्रबार

९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ ।
महानगरपालिकाले चक्रपथको राइट अफ वेमा पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।

चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरराज वाग्लेले जानकारी दिए ।

‘उहाँहरूले राइट अफ वे मिच्नुभएको रहेछ भने अर्को ९–१० फिट अग्लो पर्खाल लगाउनुभएको रहेछ । त्यो दुवै हटाएका हौं,’ वाग्लले भने । उनले चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको बताए ।

काठमाडौं–१४ कलंकी खसीबजार पश्चिमतर्फ खोला किनारमा रहेको भाटभटेनी सुपरमार्केटले मापदण्ड विपरीत लगाएको अन्दाजी २०० मिटर पर्खाल र २ वटा शौचालय महानगर प्रहरी बलबाट भत्काइ खाली गरिएको हो ।