• मंसिर ११ २०८१, मंगलवार

रुसले पहलमा चीन-भारत सीमा विवाद हाललाई अन्त्य, दुवै देशका सेना फिर्ता हुँदै

कार्तिक ९ २०८१, शुक्रबार

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेना पूर्वी लद्दाखको सीमाबाट पछाडि हट्न थालेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वीलद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट हटाउन थालेका छन् । दुवै पक्षका सैनिकहरूले सवारीसाधन र सैन्य उपकरणहरू पनि फिर्ता लिइरहेका छन् ।

भर्खरै सम्पन्न ब्रिक्स सम्मेलन लगत्तै चीन र भारतबीच नयाँ गस्ती सम्झौता भएको हो । रुसले जसरी ब्रिक्स सम्मेलन गराउन सफल भयो त्यसैगरी चीन र भारत बीचको सीमा विवाद पनि हाललाई टुङ्ग्याउन सफल भएको बताइएको छ । ब्रिक्स सम्मेलनको सफलता र यसले लिएको नीतिले अब विश्व २ ध्रुवमा बाँडिएको छ ।

यो प्रक्रिया पूरा भएपछि दुवै सेनाले डेम्चोक र देप्साङमा गस्ती गर्न सक्नेछन् । यो गस्ती १० दिन पछि सुरु हुन सक्ने बताइएको छ । यसमा २ सर्तहरू छन् । पहिलो– यी क्षेत्रमा दुवै देशका सेनाले फरक–फरक दिन गस्ती गर्नेछन् । यसबारे दुवैले एकअर्कालाई पहिल्यै जानकारी दिनुपर्नेछ ।
सन् २०२० मा भारत र चीनबिच भएको गलवान झडपपछि डेम्चोक र देप्साङमा तनावको अवस्था सिर्जना भएको थियो । लामो समयको तनावपछि भारत र चीनबिच अक्टोबर २१ मा नयाँ गस्ती सम्झौता भएको थियो । विदेशमन्त्री एस जयशंकरले गलवान जस्तो झडप हुन नदिन र त्यहाँको स्थितिलाई पुनस्र्थापित गर्न सम्झौता गरिएको बताएका थिए ।

भारतीय सेनाका अनुसार अब सैनिक गस्तीका लागि देप्साङको १०, ११, ११–ए, १२ र १३ गस्ती बिन्दुमा जान पाउने भएका छन् । डेमचोक ः गस्ती केन्द्र–१४ अर्थात् गलवान उपत्यका, गोगरा–हट स्प्रिङ्स अर्थात् पीपी–१५ र पीपी–१७ मध्यवर्ती क्षेत्रहरू हुन् । प्रतिवेदनमा स्रोतलाई उद्धृत गर्दै यहाँ गस्ती गर्नेबारे पछि विचार गरिने बताइएको छ ।

अब के हुन्छ ?
सेना पूर्ण फिर्ता भएपछि, गस्ती लगभग १० दिन भित्र सुरु हुनसक्छ, जसमा वास्तविक नियन्त्रण रेखा (एलएसी) का ६३ बिन्दुहरू समावेश छन् । यसको पूर्ण विवरण भने खुल्न सकेको छैन ।

भारत–चीन गस्ती सम्झौता ३ बुँदा :
१. यो सम्झौता प्रधानमन्त्री नरेन्द्र मोदीको ब्रिक्स भ्रमण अघि हस्ताक्षर गरिएको थियो । ब्रिक्समा मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता भएको थियो । मोदीले जुनसुकै अवस्थामा पनि शान्ति कायम गर्न आवश्यक रहेको बताएका थिए ।
२. चीन र भारत पूर्वी लद्दाखको एलएसीमा अप्रिल २०२० को यथास्थिति पुनस्र्थापित गर्न सहमत भए । यसको मतलब अब चिनियाँ सेनाले अतिक्रमण गरेको क्षेत्रबाट फिर्ता हुनेछ ।
३. भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता विक्रम मिश्रीले सन् २०२० पछि भारत र चीनको सीमा क्षेत्रमा गस्तीलाई लिएर उठ्ने समस्या समाधान गर्ने प्रस्ताव तयार गरिएको बताएका थिए । यसका लागि दुवै देशले पहल गर्नेछन् ।

गलवान भिडन्तमा २० जना भारतीय सैनिक मारिएका थिए । जुन १५, २०२० मा चीनले अभ्यासको बहानामा पूर्वी लद्दाखको सीमा क्षेत्रमा सेना तैनाथ गरेको थियो । त्यसपछि धेरै ठाउँमा घुसपैठका घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारले पनि यस क्षेत्रमा चीन सरह सेना तैनाथ गरेको थियो । स्थिति यति बिग्रियो कि एलएसीमा भिडन्त नै भयो । यसैबिच, जुन १५ मा गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।