• कार्तिक ८ २०८१, बिहीबार

लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

कार्तिक ८ २०८१, बिहीबार

काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यसअघि ६ अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो ।

गत शुक्रबार केन्द्रीय कार्यालय चस्मतिबाट लामिछाने पक्राउ परेका थिए । लगत्तै उनलाई पोखरा लगिएको थियो । सभापति लामिछाने पक्राउ भएदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ । पार्टीले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ ।

सभापति लामिछानेमाथि सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो । संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको थियो भने प्रतिनिधि सभाबाट सरकारलाई पठाइएको थियो ।
सरकारले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।