• कार्तिक ८ २०८१, बिहीबार

तिहारमा गुलियो र चिल्ला परिकारहरु खाएर कसरी स्वस्थ रहने ?

कार्तिक ८ २०८१, बिहीबार

चाडपर्व भनेकै मिठो खाने, राम्रो लगाउन र रमाइलो गर्ने भने बुझ्ने गरिन्छ । यो धेरै हदसम्म सत्य पनि हो । यो हाम्रो परम्परा पनि हो यसलाई छोड्न पनि मिलेन तर कम गरेर खानुपर्छ।

तिहारमा गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। तर होस् पुर्याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ। बिरामीले चाडपर्वमा अलि बढी नै ध्यान दिनुपर्छ। सुगर,प्रेसर र मुटुको बिरामीहरूले चिल्लो,नुनिलो र मसलेदार खाना खानु हुँदैन । त्यसैले यसलाई कम गर्नुपर्छ । प्रेसर र मुटुका रोगीले नुनको प्रयोग कम गर्नुपर्छ अनि सुगरका बिरामीले चिनी हालेको खाना खानु हुँदैन।

बच्चाहरूको हकमा पनि खाने कुरामा अलि बढी होसियारी अपनाउनुपर्छ। यो बेलामा उनीहरूले पटका पड्काउने,लगायतका काम गर्छन् । यस्ता चिजहरूमा विष सरहका एसीडहरू हुन्छन् । त्यही हातले खाना खाइरहेका हुन्छन्। उनीहरूको सरसफाईमा अझै बढी ध्यान दिनुपर्छ।

तिहारमा सेलरोटी,मिठाई लगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै छ । सकभर घ्यू र परम्परागत तेलहरूमा पकाएको खानेकुरा खानु हुँदैन । संभव भएसम्म सनफ्ल्वार, मकै र भट्टमासको तेलको प्रयोग गर्नुपर्छ । घ्यूमा ‘सेचुरेटेड फ्याट’ बढी हुन्छ। घ्यूले शक्ति बढी दिन्छ तर दिर्घकालीन रुपमा यसले हानी पुर्‍याउँछ। साधारण मानिसलाईभन्दा मुटु, प्रेसर र सुगरको रोगीलाई यसले हानी गर्छ।

चाडपर्वको बेलामा हरियो तरकारी र फलफूल बढी खानुपर्छ । चाडपर्वको ‘मूडमा’ हुँदा नियमित खाने औषधि पनि छोड्ने गरिन्छ । यो एकदमै गलत हो । यसले गर्दा कतिपय समस्याहरू निम्तिने गरेका छन् । चाडपर्वको बेलामा दीर्घ रोगीहरूले औषधिलाई छोड्न हुँदैन। स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी तिहार मनाउने केही टिप्स यस प्रकार छन्ः

चाडपर्वको बेलामा व्यायाम बढी गर्नुपर्छ

चाडपर्वको बेलामा धेरै चिल्लो गुलियो खाना खाने गरिन्छ। जसले गर्दा शरीरलाई हानी पुग्छ। यो बेलामा व्यायाममा ध्यान दिनुपर्छ । बढी व्यायाम गर्‍यो भने खाएको खानेकुरा सन्तुलन बन्न पुग्छ । चाडपर्वको बेलामा खाने अनि आराम गर्ने भन्ने चलन छ जुन स्वास्थ्यका लागि गलत हो। आराम गर्ने, परिवार मिलेर रमाइलो गर्ने त राम्रो हो तर योसँगै स्वास्थ्यलाई पनि ध्यान दिन जरूरी छ। शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्छ।

रक्सी खान हुन्छ की हुँदैनरु

रक्सी खान हुन्छ कि हुँदैन भन्नेमा सधैँ अन्यौलता छ । रक्सी सकेसम्म नखाएकै राम्रो हो । स्वस्थ व्यक्तिले न्यूनतम मात्रामा रक्सी खान सक्छ तर न्यूनतम भनेको कति होरु भन्ने कुनै निर्धारण भएको छैन। अनुसन्धानले रक्सीले हानी नै गर्छ भनेको छैन तर स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेर पनि प्रमाणित गर्न सकेको छैन। रक्सीको बेफाइदा नै बढी छ। बढी मात्रामा रक्सी सेवन गरेमा यसले पेनक्रियाज बिगार्छ जसले गर्दा ‘सुगर’को समस्या हुन्छ। यसका साथै, कलेजो बिगार्छ, पेटमा घाउ हुन्छ, रक्तश्राव हुन्छ र दिसामा रगतसमेत देखिन्छ।

भाई मसला स्वास्थ्यका लागि फाइदाजनक

तिहारको बेलामा प्रयोग हुने भाई मसला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। भाई मसलामा केही मात्रामा चिल्लो पदार्थ हुने भएपनि समग्रमा यसले स्वास्थ्यलाई हानी गर्दैन । सेलरोटी मासु लगायतका खानेकुरा भन्दा बढी भाईमसला स्वास्थ्यका लागि उपयुक्त छ। काजु, बदाम, नरिवल, किसमिस, बदाम लगायतका खानेकुराहरूमा शरीरका लागि चाहिने भिटामिन, मिनरलस लगायतका तत्वहरू पाइन्छ ।