धेरै वर्ष पहिलेको समाजमा मानव जीवनका लागि आवश्यक पर्ने केही प्राकृतिक वस्तु वा व्यक्तिहरूलाई माया गर्ने र संरक्षण गर्ने क्रममा विभिन्न वस्तु, जीवजन्तु र मानिसहरूलाई माया र मान सम्मान गर्ने प्रचलन नै चलेको पाइन्छ । यस सन्दर्भमा पूर्वीय समाजमा काग, कुकुर, गाई, गोरु र भाईलाई पनि पूजा गर्ने परम्पराको थालनी भएको पाइन्छ । यिनीहरुलाई पूजा गर्ने पर्वलाई नेपालमा तिहार पर्व नामाकरण गरियो ।
कागले फोहोर खाएर वातावरण स्वच्छ राख्ने र एक चतुर प्राणी हो । उड्ने पन्छी भएकोले छिटोछरितो एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान र आउन सक्छ । धेरै वर्षअघिको अविकसित समाजमा सञ्चारका साधनहरू नभएको बेलामा मानिसहरूले सन्देश पुराउन कागलाई प्रयोग गर्थे होला । त्यसैले कागको बोलीलाई अथ्र्याउने गरी एउटा श्लोक र विधि नै तयार भएको पाइन्छ ।
लाभ, हानी तथा सौख्यं, भोजनं, पृय दर्शनम् !
कलहौ मरणं चैव काकस्य वचन यथाः
अर्थात् काग फोहोर खाएर वातावरण सफा राख्ने वातावरणमैत्री प्राणी हो । कोइलीजस्तो सुमधुर स्वर भएको चराको अण्डालाई आफ्नो गुँडमा कोरल्ने र बचेराहरूलाई उड्ने हुँदासम्म हुर्काउने परोपकारी काम पनि कागले गर्दछ । त्यसो हुनाले यसलाई माया गर्ने र पूजा गर्ने संस्कार बस्नु सचेत र विवेकवान प्राणी मानवका लागि उचित नै देखिन्छ ।
यसैगरी कुकुर सिकार खेल्नसक्ने शक्ति र सीप भएको र सुँघेर पत्ता लगाउने घ्राणशक्ति सम्पन्न जनावर भएकाले प्राचीन जङ्गली युगमा सिकार खेलेर जीविकोपार्जन गर्ने समयमा शिकारीहरूले सिकार खेल्ने काममा कुकुरलाई प्रयोग गर्दै आए, जो अहिले पनि कायमै छ । कुकुर एक अत्यन्त विश्वसनीय प्राणी पनि हो ।
यो धेरै सचेतता र जागरुकता सहितको निद्रा कम भएको जनावर पनि हो । पछिसम्म पनि यसले चोरीचकारी, वन्यजन्तुबाट वस्तु र बालीनाली संरक्षण गर्नसक्ने र मानिसलाई मद्दत गर्ने हुनाले पनि पहिले जस्तै कुकुरको उपयोगिताका कारण यसलाई पनि परापूर्वकालदेखि हालसम्म पनि विश्वसनीय साथीको रूपमा नै माया गरिन्छ ।
यसको संरक्षण गर्दै जाँदा वर्षमा कम्तीमा एकदिन विशेष किसिमले कुकुरलाई माया गर्ने, पूजा गर्ने र मिठोमिठो खान दिने संस्कृति नै बस्यो । यस्तै गरेर मान्छे बाँच्नका लागि नभै नहुने अन्न उत्पादन कार्यमा सघाउने जस्तो कि खेतीपाती गर्दा मलजल दिने, बाँझो जमिन जोत्ने र अन्न उत्पादन गर्ने आदि कामको साथै गाडा तानेर कृषि सामग्री लगायतका सामानहरू ओसारपसार गर्ने कार्यका लागि सोझो र बलियो प्राणी गोरु पनि मान्छेलाई कृषियुगमा नभई नहुने जन्तु भएकोले गोरुलाई पनि माया गर्न थालियो । यसको पनि पालनपोषण गर्ने र पूजा नै गर्ने संस्कार बस्यो ।
यसैक्रममा बालकदेखि बालकदेखि बृद्ध मानिससम्मका लागि पोषिलो खानाको रूपमा आमाले जस्तै दुध उपलब्ध गराउने, बालीनालीका लागि मलमूत्र दिने, मृत्युपछि पनि जुत्ता आदिको लागि छाला दिने र औषधीय गुण भएको गहुँत दिने हुनाले गाईलाई गौमाता, लक्ष्मी, कामधेनु आदि भन्दै मानवजीवनको अभिन्न मित्रको रूपमा लिएर यसलाई माया गर्ने, पालनपोषण गर्ने र पूजाआराधना नै गर्ने संस्कृति बन्न गयो ।
यसैगरी सम्पूर्ण प्राणीहरूमध्येमा मानिस नै सचेत र सबल प्राणी भएकाले पशुपन्छीहरूलाई जस्तै मानिसलाई पनि माया मात्र होइन, मानसम्मान र पूजा–प्रशंसा गर्नुपर्छ भन्ने सोच पलाउनु र यस्तो संस्कार बस्न जानु पनि स्वाभाविक नै देखिन्छ ।
फलस्वरूप भाईलाई पुज्ने अर्थात् टीका–माला लगाइदिने, मिठो–मिठो खानदिने जस्तो संस्कार–संस्कृति बस्न गयो र भाइटीका पर्वको रूपमा भाइलाई पुज्ने परम्परा बस्यो । भाईलाई अर्थात् पुरुषलाई नै यसरी माया र पूजा गर्नुको अर्थ र कारण यो पनि हो कि महिलाहरु घरमुली भएको युगमा सम्भवतः पुरुषको संख्या थोरै र पुरुषको शक्ति, मूल्य र महत्व पनि कम भएकाले र तिनको मूल्य र महत्व बढाउनका लागि पनि पुरुषलाई माया, सम्मान, संरक्षण गर्ने क्रममा पूजाको रुपमा भाईको पूजा गर्ने चलन चलेको हुनुपर्छ ।
यो चलनलाई पछि पुरुषले घरको र समाजको अगुवाई गर्ने युगमा झन् अझ बढी जोड दिने प्रचलन बढेर गएको हुनसक्छ किनकि महिला अगुवा भएको समयबाट मुक्त भएको अनुभूति गरेका पुरुषहरूले आफ्नो बोलवालाको बेलामा आफ्नो जातिको पूजा गरी आफ्नो जातिको औचित्य र आवश्यकता बोध गराउनेतिर ध्यान गएको कुरा स्वाभाविक नै हो ।
यसै बिच पैसा, धनधान्य र श्रीसम्पत्तिको आवश्यकता र महत्व बढ्दै जाँदा शोषण गरी थुपारिएको धनसम्पत्तिलाई लक्ष्मीको वरदानस्वरूप प्राप्त भएको भनी त्यसलाई चोखाउने र जोगाउने उद्धेश्यसँगै तिहारकै क्रममा लक्ष्मी पूजा गर्ने चलन चल्यो ।
यो चलन चल्दै गर्दा संस्कृति नै बन्यो, जो आज एक प्रकारको विकृति नै हुन पुगेको अनुभव भइरहेछ । जे होस्, मूलतः कागदेखि कुकुरहुँदै गाई, गोरु र भाईको पूजा गर्ने यो तिहार पर्व अर्थात् पञ्चक (पाँच प्राणीको पूजाको अवधि) प्रकृतिका विभिन्न प्राणीहरूको पूजा गर्ने संस्कृति प्रकृतिपूजक संस्कृतिको रूपमा हाम्रो समाजको पहिचान दिने संस्कृति नै बन्न गयो, जो स्वाभाविक र वैज्ञानिक नै देखिन्छ ।
यसैक्रममा गोबरको पर्वत बनाएर त्यस गोबरको थुप्रोलाई धनको थुप्रो सम्झेर धन पूजा गर्ने प्रचलन पनि चल्यो । सारमा हेर्दा कृषि युगमा गोबर बालीनालीको मलखादको रूपमा प्रयोग हुने अत्यन्तै आवश्यक चीज भएकाले त्यसलाई पनि संरक्षण गर्ने अर्थमा होस् अथवा गोबर्धन अर्थात् गाईरूपी धनलाई वृद्धि गर्ने अर्थमा गोबरको पर्वत बनाई त्यसैलाई धनको पहाड सम्झेर गोबर्धन पूजा गर्ने कुरा पनि सान्दर्भिक र स्वाभाविक नै देखिन्छ ।
यसरी ऐतिहासिक र भौतिकवादी दृष्टिले हेर्दा जङ्गली युगदेखि पशुपालन र कृषि युगसम्मको अवधिमा तिहार पर्व प्रायः सम्पूर्ण मानवजातिकै पर्वको रूपमा सिर्जना र अवलम्बन भएको देखिन्छ ।
यसमा पूजा गरिने मुख्यतः पशुपन्छी र मानिस, अनि धन–लक्ष्मी पनि मानव जीवन र पूरै प्रकृति सञ्चालनका लागि अनिवार्य र अपरिहार्य अवयवहरू भएकाले यिनको पूजा अर्थात् संरक्षण गर्ने कार्य कुनै खास जाति वा धर्म–सम्प्रदायका लागि मात्र आवश्यक र उचित नभएर सम्पूर्ण मानवजातिकै लागि स्वाभाविक भएको देखिन्छ ।
तर विडम्बना यो भएको छ कि अहिले पछिल्लो सामन्ती युगपछि पनि यस्ता चाडपर्व र संस्कार–संस्कृतिलाई धर्मको स्वरूप दिइयो र यिनलाई कुनै एक निश्चित जाति र सम्प्रदायको पेवा बनाई यिनलाई ईश्वरीकरण, धार्मीकरण, जातीयकरण र विकृतिकरण गरी मानव–मानव बिचमा रिसइवी सिर्जना गर्दै आपसमा धर्म, जाति, संस्कृति वा सम्प्रदायका नाममा मारकाटको अवस्था पैदा गरियो । त्यसैले हामी स्पष्ट हुनुपर्छ कि प्रथमतः संस्कृति र धर्मको बिचमा भिन्नता भएकोले यिनलाई एउटै बुझ्ने वा जोडेर हेर्ने गल्ती गर्नु हुँदैन ।
संसारका सबै चाडपर्व, रीतिरिवाज र संस्कार संस्कृतिहरू मानवसमाजको विकासक्रमसँगै देखिएका आवश्यकताहरू पूर्ती गर्ने सन्दर्भमा जन्मेर हुर्केका हुनाले तिनको यथोचित रुपमा संरक्षण र परिमाजन गर्दै जानुपर्ने हुन्छ । ती संस्कार र संस्कृतिहरू सुरुमा वस्तुवादी, वैज्ञानिक र स्वाभाविक थिए । प्रकृति पूजक पनि थिए भने पछिपछि सबैतिर सबैमा जात, धर्म र ईश्वर जोडिएर आएपछि तिनमा अवैज्ञानिक र काल्पनिक कामकुराहरूसँगै अन्धविश्वास र रुढीवाद जस्ता विकृतिमूलक कामकुराहरू भित्रिए ।
जो दुःखद पक्ष भएको छ । कुनै निश्चित जात, धर्म वा संस्कृति राम्रो र ठुलो अथवा कुनै अर्को नराम्रो र सानो वा निन्दनीय भन्ने गलत सोच नराम्रो हो । यस्तो सोच बनाउनु हुँदैन । किनकि सबैमा केही राम्रा र केही नराम्रा पक्षहरू रहेका छन् । सबैका राम्रा पक्षको संरक्षण हुनुपर्छ भने नराम्रा पक्षहरू त्याग्नुपर्छ । यसरी सबैतिर रहेका राम्रा पक्षहरूलाई अवलम्बन गर्न र नराम्रा पक्षहरूलाई छोड्नु नै वैज्ञानिक कुरा हो ।
यो नै सचेत नागरिक र सामाजिक–राजनीतिक व्यक्तित्व–नेतृत्वहरूको दायित्व हो । यसो गर्न सके मात्र एकातिर समाजमा रहेका विभिन्न जातीय, धार्मिक र सांस्कृतिक आदि स्वरूपमा संकीर्ण र संकुचित बन्न पुगेका विकृतिहरूलाई हटाउन र अर्कातिर यिनबाट प्रदूषित मानिसहरूमा आपसी सद्भाव, विश्वास र सम्मान बढाउन सकिन्छ ।
यसरी समाजमा मेलमिलाप र मानवताको भावना अभिबृद्धि हुनजान्छ र समाज शान्त, सुन्दर र सभ्य बन्नपुग्छ । यसपालिको तिहारलाई पनि यसरी नै बुझ्ने र बुझाउने गरौं ।