• कार्तिक ६ २०८१, मंगलवार

कर्णालीमा यु–१९ क्रिकेट छनोट प्रतियोगिता सुरु

कार्तिक ६ २०८१, मंगलवार

कात्तिक ६, काठमाडौं । कर्णालीमा १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । मंगलबारबाट सुर्खेतको वीरेन्द्रनगरमा वाइ–वाइ कर्णाली प्रदेश यु–१९ क्रिकेट छनोट प्रतियोगिता सुरु भएको हो । वाइ–वाइ चाउचाउद्वारा प्रायोजित प्रतियोगिता कर्णाली खेलकुद विकास परिषद्ले आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद प्रतियोगितासँगै खेल पूर्वाधार निर्माणमा तीव्रता दिइरहेको बताए ।

खोला किनारमा गरिने खेल अभ्यासले कर्णालीका खेलाडीको चाहना प्रकट गरेको बताउँदै त्यसअनुसार खेल पूर्वाधार बनाउनेतर्फ सरकार अगाडि बढिरहेको बताए ।

खेलसम्बद्ध पदाधिकारीहरूले वार्षिक कार्ययोजना बनाएर भौतिक संरचनाको उपयोग र खेलाडी उत्पादनमा ध्यान दिन मन्त्री भण्डारीको सुझाव थियो ।

उपलब्ध खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार बनाउन समन्यवकारी भूमिकामा आफू रहेको मन्त्री भण्डारीको दाबी छ ।

यस्तै, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले क्रिकेटको विकासका लागि आवश्यक पूर्वाधार धमाधम निर्र्माण भइरहेको बताए ।

आसन्न दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी कर्णालीमा पूर्वाधारसँगै खेलकुद गतिविधिमा बढवा दिइएको उनले बताए ।

नेपाल क्रिक्रेट संघ कर्णाली अध्यक्ष पदमबहादुर खड्काले भौतिक पूर्वाधार निर्माणमा सुधार हुँदै गएको उल्लेख गर्दै खेलकुदको विकास एकल प्रयासबाट सम्भव नहुने भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

उद्घाटनको पहिलो खेल रुकुम पश्चिम र सल्यानबीच हुँदै छ । दुई समूहमा विभाजित पाँच टोलीले यु–१९ छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।