• कार्तिक ६ २०८१, मंगलवार

साफ महिला च्याम्पियन : माल्दिभ्सविरुद्द नेपालकाे ११ वटा गाेलकाे वर्षा

कार्तिक ५ २०८१, सोमबार

काठमाडाै । साफ महिला च्याम्पियनसिपको समूह चरणको खेलमा सोमबार नेपालले माल्दिभ्समाथि प्रभावशाली जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल ११–० गोल अन्तरले विजयी भएको हो ।

नेपाललाई पराकिलो जित दिलाउने क्रममा रेखा पौडेल एक्लैले माल्दिभ्सको पोस्टमा पाँच गोल गरिन् । उनले दुई गोल पहिलो हाफमा गरेकी थिइन् भने तीन गोल दोस्रो हाफमा गरिन् ।

यस्तै, नेपाललाई सुरुवाती अग्रता दिलाएकी प्रीति राईले पनि ह्याट्रिक पूरा गरिन् । उनले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गरिन् । यस्तै, नेपालका लागि सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक एक गोल गरे ।

नेपाली खेलाडीले माल्दिभ्सको पोस्टमा एकपछि अर्को प्रहार गर्दा माल्दिभ्सका खेलाडी निरीह बनेका थिए । सेमिफाइनलमा पुग्न जित्नैपर्ने दबाबपूर्ण खेलमा नेपालले गोल वर्षा गरेको हो । जितपछि नेपालको दुई खेलबाट ४ अंक भएको छ । पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको थियो ।

सोमबारै भुटानले श्रीलंकालाई पराजित गरेको छ । उता श्रीलंकाले पनि माल्दिभ्सलाई पहिलो खेलमा पराजित गरेर तीन अंक जोडेको छ । सोमबारको खेलपछि माल्दिभ्सको सेमिफाइनल सम्भावना समाप्त भएको छ ।