• कार्तिक ५ २०८१, सोमबार

माओवादी सहितका विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

कार्तिक ५ २०८१, सोमबार

५ कात्तिक, काठमाडौँ । सरकार बाहिर रहेका विपक्षी दलहरूले सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र आज बुझाउँदै छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सरकारको सय दिनको समीक्षा, बाढीपहिरो पछिको राहत तथा पुनस्र्थापना, सुशासन, सामाजिक न्याय, जनजीविका लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

साथै समग्र अवस्थाको अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।  ज्ञापनपत्र दिउँसो ४ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यदल सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।

‘बाढी पहिरोबाट पीडित जनताका राहत, पुनस्र्थापना, सुशासन, जनजीविका लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यसूची रहेको छ’, बस्नेतले भने ।

कार्यदलमा बस्नेतसहित एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल रहेका छन् ।

विपक्षी दलहरूको बैठकले ओली सरकार पूर्ण असफल रहेको निष्कर्ष निकाल्दै जनपक्षीय काम, विकास निर्माण, सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा काम गर्नका लागि दबाब दिने नीति लिएको थियो ।

ध्यानाकर्षण गराउँदा समेत सरकारले काम नगरे संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको थियो ।