• कार्तिक ५ २०८१, सोमबार

एमाले साना दल फुटाएर आफूमा जोड्ने काममा लाग्यो : शेखर कोइराला

कार्तिक ४ २०८१, आईतवार

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नभएको बताएका छन् । आइतबार गृहनगर विराटनगरमा भएको छलफलमा बोल्दै उनले एमालेले केही साना दललाई टुक्रयाउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाए ।

नेता कोइरालाले केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको कुरा उल्लेख गरे । ‘यसैको लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ । एमालेले स्थायित्वका लागि भने पनि यो ऐन ल्याउँदा झन अस्थिरता हुने देखिन्छ,’ उनले भने, ‘धेरै प्रतिशत राखिँदा दलहरु कम हुन्छन् । साना पार्टी पनि अन्यमा मिसिने छन् । कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ ।’

सो अवसरमा बोल्दै उनले संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको कथन गरे । दलसम्बन्धी ऐन ल्याएर एमाले ठूलो पार्टी बन्ने दाउमा रहेको उनको आशंका थियो ।

‘म यसै हो भन्न सक्दिनँ तर सञ्चार क्षेत्रमा आएको कुरा हेर्ने हो भने एमालेले ल्याउन प्रयास गरिरहेको दलसम्बन्धी ऐन कुनै पनि हालतमा हाम्रो मुलुकको स्थिरताका लागि लाभदायक छैन,’ उनले भने ।

नेता कोइरालाले हालको गठबन्धनले मुलुकमा सुशासन, स्थिरता र जनअपेक्षा अनुसार काम गर्न नसकेको धारणा राखे । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि गठबन्धन भएको तर, दलसम्बन्धी विधेयकले कतै प्रश्नचिन्ह खडा गरिदिएको उनको भनाइ थियो ।

जुन सोचका लागि सरकार अघि बढ्नुपर्ने त्यसअनुरुप हिँड्न नसकेको उनको भनाइ थियो । साथै उनले कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजेकोप्रति असन्तुष्टि व्यक्त गरे ।