• कार्तिक ३ २०८१, शनिबार

म्याग्दीको पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

कार्तिक ३ २०८१, शनिबार

म्याग्दी, ३ कात्तिक । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् ।

यद्यपि यो गतवर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ । उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार छ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए ।

यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् । पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताइन् ।

आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताइन् ।

कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।