कात्तिक २, काठमाडौं । विपक्षी दलहरूले सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले सरकार विपद्मा उदासीन भएको र जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकारले पार्टीगत र निहित स्वार्थमा मात्रै ध्यान बताए ।
उपमहासचिव बस्नेतले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने बैठकमा सहमति भएको बताए ।
उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भएको बताए । ‘संसदको विशेष अधिवेशन आवश्यक हुनसक्छ । यसबारेमा बैठकमा कुरा भएको छ,’ उनले भने ।