• कार्तिक ३ २०८१, शनिबार

रोल्पाका विश्व कृतिमानी सगरमाथा आरोही हरि बुढामगरलाई बेलायतद्वारा सर्वोच्च अवार्ड प्रदान

कार्तिक १ २०८१, बिहीबार

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–३, मिरुल निवासी विश्व कृतिमानी हिमाल आरोही हरि बुढामगरले बेलायतले प्रदान गर्ने विश्वप्रसिद्ध पुरस्कार प्राप्त गरेका छन् ।

बुढामगरले सर्वोच्व अवार्ड  Soldering On Award को  Inspiration Award  प्राप्त गरेका हुन् । यो पुरस्कार प्राप्त गरे लगत्तै उनलाई उनका आफन्त र साथीहरुले सामाजिक सञ्जालमार्फत् तथा भेटेर बधाई दिइरहेका छन् ।

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर र माओवादी युवा नेता जीवन रोकामगर लगायतले सामाजिक सञ्जाल फेसबुकमा उनलाई बधाई दिएका छन् ।

घुँडामाथिसम्म खुट्टा गुमाएका बुढाले अघिल्लो वर्ष २०८० जेष्ठ ५ गते कृत्रिम खुट्टाको सहयोगमा पहिलो सगरमाथा आरोही बन्दै विश्व कीर्तिमान बनाएका थिए । उनले सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका थिए ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्याउँदै भनेका थिए, ‘हामी सफल भयौँ ।’

हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका थिए । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस) को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका छन् ।

सफल आरोहणपछि स्याटलाइट फोनमार्फत् बुढामगरले भनेका थिए, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौँ ।’
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्नसक्छ ।’
सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर) लगायतका हिमाल आरोहण गरेका थिए ।