• कार्तिक ३ २०८१, शनिबार

फुटबल खेल्दा मृगौला चिरिएका सिन्धुपाल्चोकका तामाङको नेपाल मेडिकल कलेजमा शल्यकृया सफल

कार्तिक १ २०८१, बिहीबार

काठमाडौं । फुटबल खेल्दा मिर्गौला चिरिएर गम्भीर एक किशोरको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । फुटबल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा घाइते भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् ।

उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् । ‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटीस्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’

कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. अन्सारीले बताए, ‘त्यसपछि तत्काल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उनको अवस्थामा सुधार भइरहेको छ ।’ मिर्गौलाको शल्यक्रियामा डा.अन्सारीलाई कलेजका रेजिडेन्ट डा.विधान र डा.हेमन्तले साथ दिएका थिए ।

असोज १७ गते माकलबारीस्थित मनकामना फुटसलमा फुटबल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए । त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए । करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए ।

परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए ।

डा. अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो । ‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटवल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’
उनका अनुसार रोविनको मिर्गौला पूणर्रुपमा स्वस्थ हुन केही महिना लाग्छ । ‘शल्यक्रिया राम्रो भएको छ । दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ ।’ डा. अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उनको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था बन्दथ्यो ।

आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिएका थिइन् । ‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । किड्नी पनि सिलाउँछ र भन्ने थियो । तर, डा. सावहरुले गरेरै देखाउनु भयो । मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’

कलेजले मिर्गौला विशेषज्ञका रुपमा डा. अन्सारीलाई भित्र्याएपछि पछिल्लो समय नेपाल मेडिकल कलेजमा मिर्गौला र मुत्रासयका जटिल उपचारहरु सम्भव भइरहेका छन् । डा.अन्सारीले दुई वर्षयता नेपाल मेडिकल कलेजमा युरोलोजिस्ट तथा मिर्गौला ट्रान्सप्लान्ट सर्जनका रुपमा सेवा दिइरहेका छन् ।