३० असोज, तमिलनाडु । भारतको तमिलनाडुस्थित मदुरैबाट सिंगापुर जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानलाई मंगलबार अचानक दुईवटा लडाकु विमानले घेरेपछि यात्रुहरू नराम्ररी आत्तिएका थिए ।
मंगलबार सोसल मिडिया प्लेटफर्म एक्सको पोस्टमार्फत एयर इन्डियाका सात विमानहरूमा बमको धम्कीसहितको सन्देश प्राप्त भएको थियो । यसपछि सुरक्षा निकायले विभिन्न विमानस्थलमा तत्कालै आतङ्कवाद विरोधी अभ्यास गर्नुपरेको थियो ।
एयर इन्डिया एक्सप्रेसको उडान (उडान नम्बर आईएक्स६८४) मदुरैबाट सिङ्गापुर जाँदै थियो । अन्य विमानहरूसँगै यसमा पनि बमको धम्की आएको थियो । धम्की पाएपछि सिंगापुर वायुसेनाले यस विमानको सुरक्षाका लागि आफ्ना दुईवटा एफ–१५एसजी लडाकु विमानहरू पठायो ।
सिङ्गापुरको लडाकु विमानले एयर इन्डियाको उडानलाई सघन जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लगेको थियो । त्यसपछि निर्धारित समयभन्दा एक घण्टा पछि १० बजेर ४ मिनेटमा विमान चाङ्गी विमानस्थलमा अवतरण भएको थियो । अवतरण पछि विमानको जाँच गरियो । तर धम्की अफवाह साबित भयो ।
प्रहरीले राति ८ः२५ बजे बमको धम्कीको सूचना पाएको र विमान अवतरणपछि अनुसन्धान पुरा गरेको जनाएको छ । जनतामा जानीजानी त्रास फैलाउनेलाई कारबाही गरिने प्रहरीको भनाई छ ।
फ्लाइट ट्र्याकर फ्लाइटराडारले विमानले अवतरण गर्नु अघि करिब एक घण्टा पूर्वी सिंगापुरमा परिक्रमा गरेको देखाएको छ । घटनाको जानकारी दिँदै सिंगापुरका रक्षामन्त्री एनजी हेनले ट्वीटरमा लेखेका छन्, ‘एयर इन्डिया एक्सप्रेसले सिङ्गापुरका लागि उडेको विमानमा बम रहेको इमेल प्राप्त भएको थियो । यसपछि, हाम्रा दुई लडाकु विमानले विमानलाई जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लगेर सिंगापुर चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गराए । विमान आज राति करिब १०ः०४ बजे सकुशल अवतरण भएको थियो ।’
एक दिन अघि मात्र सामाजिक सञ्जालमार्फत मुम्बईबाट प्रस्थान गर्ने तीन अन्तर्राष्ट्रिय उडानहरूमा बमको धम्की दिइएको थियो । त्यसपछि मंगलबार ७ वटा विमानमा बमको धम्की आएको थियो ।