• मंसिर ११ २०८१, मंगलवार

भूराजनीतिक चहलपहलभित्र भारतीय पहल

आश्विन २९ २०८१, मंगलवार

भारत पहिलेका भन्दा भिन्न भूराजनीतिक अन्तरविरोधको चपेटामा छ । सोचेको र आफूले पहल गरिरहेको अवस्थाभन्दा भिन्न परिस्थिति सिर्जना हुन गएपछि हाल यसको नयाँ प्रयोगमा छ भारत । अमेरिकाले छिमेकी राष्ट्र बंगलादेशमा केही नयाँ पहल लिइसकेपछि भारत झस्किएको पनि देखिन्छ ।

बंगलादेशमा नयाँ सरकार छ । तात्कालिन निर्वाचित प्रधानमन्त्री शेख हसिना भारतमा शरण लिइरहेकी छिन् । पश्चिमा राष्ट्र उनको ‘फेवर’मा छैन । बंगलादेशको समस्या अहिले भारतमाथि पेचिलो बनेर आइसकेको छ । यसका लागि भारतले छिमेकी सम्बन्ध र मित्रतामा पुनः विचार गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

यसै सिलसिलामा भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान भ्रमणमा छन् । भारतीय विदेशमन्त्रीको यस पालाको छिमेकी देश पाकिस्तान भ्रमण एक दशकपछि भएको हो । यस कारणले पनि पाकिस्तानमा जयशंकरको भ्रमण निकै चासोको विषय बनिरहेको छ ।

बहाना पनि मिलेको छ अहिले । ‘पशुपतिको जात्रा, सिध्राको व्यापार’ भने झैं शांघाइ कोअपरेशन अर्गनाइजेसन (एससीओ)को बैठकमा भाग लिन उनी पाकिस्तान जान लागेका हुन् ।

एससीओको बैठक पाकिस्तानको राजधानी इस्लामावादमा १५ र १६ अक्टोबरमा भइरहेको छ । भारत एससीओको सदस्य हो । यो वैठकमा विदेशमन्त्री एस जयशंकरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । यद्यपि पाकिस्तानले बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेको थियो ।

मोदीको जवाफ कुरिरहेको पाकिस्तान भारतका कोही पनि नआउने हुन् कि भनी संशयमा थियो । तर भारतले सुझबझका साथ विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा आफ्नो प्रतिनिधि मण्डल पठाएर ठीक गरेको छ । तथापि एससीओ वैठकमा भारतीय विदेशमन्त्री नै पुगे पनि भारत र पाकिस्तान बीचको छिमेकी सम्बन्धमा सुधार आउन नसक्ने विज्ञहरूको दाबी छ ।

यो कुरा भारत पाकिस्तानका बीचमा द्वीपक्षीय कुराकानी हुने वा नहुनेमा निर्भर रहन्छ । अहिले पनि कसको के प्रस्ताव हुने भन्ने ताकाताकको अवस्था छ । पाकिस्तान भन्छ, ‘सम्वादका लागि भारतले प्रस्ताव गरेमा’ वार्ता हुनसक्छ । उता पाकिस्तानले चासो राखेमा वार्ता हुने भन्ने देखिन्छ । अहिलेसम्म द्वीपक्षीय कुराकानीका लागि न त भारतले अनुरोध गरेको छ, न त पाकिस्तानले नै ।

तर पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानीले भने झैं ‘यो भ्रमण भारतको स्मार्ट मूभ’ भने हुने देखिन्छ । पाकिस्तानका एक उच्चयुक्तको भनाइमा पनि यो दुई देशको सम्बन्ध सुधार गर्ने अवसर हो । शायद भारतले बललिँदो विश्व भुराजनीतिक परिवेशमा छिमेकी देशहरुसँगको सम्बन्ध सापेक्ष स्थिरता चाहन्छ ।

हालसम्म यी दुई देशका बीचमा उच्च आयुक्त पनि नरहेकाले संवाद विहीनताको अवस्था छ । यही बेलामा भारत–पाकिस्तान दुबै देशले आफ्ना उच्चायुक्त पठाउन सहमति कायम गर्नेछन् ।