असोज २९, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताएका छन् ।
अन्तर–व्यवस्थापिका संघको १४९औँ महासभालाई सोमबार स्वीट्जरल्यान्डको जेनेभामा सम्बोधन गर्दै उनले सबै नागरिकको प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुने गरी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिएको संसद सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले यसले सन् २०१५ मा लागु गरिएको दीगो विकासका लक्ष्य हासिल गर्न रुपान्तरणकारी क्षमता समेत राख्ने धारणा व्यक्त गरे ।
सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर रहेको बताउँदै उनले भने, ‘अझै पनि साढे दुई अर्बभन्दा बढी मानिसको सूचनामा पहुँच छैन ।
तसर्थ हामी एकजुटभई चूनौतीको सामना गर्न र विज्ञान प्रविधि र नवप्रवर्तनका उपलब्धिमा सवैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ ।’
उनले विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समुदायकाहितमा सदुपयोग तथा यसबाट सिर्जना हुनसक्ने गोपनीयता भंग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रचारजस्ता जोखिम र चूनौतिलाई सामना गर्न कानुन निर्माण तथा सरकारका कामको अनुगमन गर्ने सवैधानिक जिम्मेवारीमा रहेका विश्वका व्यवस्थापिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नपर्ने बताए ।