• कार्तिक ३ २०८१, शनिबार

संसारबाटै एक्लियो इजरेल, लेबनानमा शान्ति सेनामाथि गरिएको इजरेली आक्रमणको इयुद्वारा निन्दा

आश्विन २८ २०८१, सोमबार

जेनेभा । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाइ निन्दा गरेका छन् ।

‘इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्’, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने,‘संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।’

हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् ।

इजरायलको सन् १९७८ को लेबनानमाथिको आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियता (देश) का करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा जानीजानी आक्रमण गरेको आरोप लगाएको छ । ‘धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्’, बोरेलले भने,‘उनीहरूको काम धेरै महत्वपूर्ण छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई मानव ढालको रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकहरूलाई खतराको बाटोबाट हटाउन आह्वान गरेका थिए । युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ ।