राष्ट्रिय आविष्कार केन्द्रले मल्टी रोटर ड्रोन निर्माण गरेको छ । यसको सफलतापुर्वक परीक्षण पनि गरिएको छ । महावीर पुन नेतृत्वको आविष्कार केन्द्रद्वारा निर्मित यो ड्रोनले प्राकृतिक विपद्को बेलामा आवश्यक पर्ने राहत तथा औषधीजन्य सामग्री पुराउन सजिलो हुने बताइएको छ ।
यो ड्रोन निर्माणमा इन्जिनियर दीपेन्द्र बस्नेतसहितको टिम खटेर लागिपरेको थियो । नेपालका इन्जिनियरको टिमलाई सरसहयोग गर्नेमा अमेरिकाको म्यासाच्युसेट इन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र नेदरल्याण्डको टीयू डेल्फिट विश्वविद्यालयका रिसर्चर रहेका छन् ।
मल्टी रोटर ड्रोनको निर्माण रातारात भएको भने होइन । यस अघि धेरै ड्रोन निर्माण गरेर सफलतापुर्वक परीक्षण गरिसकिएको छ । आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको पनि यस्तोखाले स्वीकारोक्ति छ । उनका अनुसार मल्टी रोटर ड्रोन निर्माण भन्दा अघि अरू धेरै ड्रोन बनाएर देशका दुर्गम क्षेत्रमा रहेका जिल्लाका विकट ठाउँहरूमा पुराउन परीक्षण गरिसकिएको पनि छ ।
मल्टी रोटर ड्रोन भने हालस्मम निर्माण गरिएको ड्रोनहरू भन्दा सापेक्षिक लामो दुरीको स्वचालित ड्रोन हो । यो ड्रोन परीक्षणकै क्रममा ४० किलोमिटरसम्मको दुरीमा पुगेर सफलतापूर्वक उडेकै ठाउँमा फर्कन सफल भएको ड्रोन हो ।
यसको अर्को विशेषता भनेको यो रिमोट कन्ट्रोल ड्रोन होइन । यो सफ्ट वेयरको सहयोगमा चल्छ । यसलाई ४० किलो मिटरको लामो दुरी पार गर्न र सफलतापुर्वक फर्कन सफ्ट वेयरले सहयोग गरिरहेको छ । त्यसैले यो स्वचालित छ ।
आविष्कार केन्द्रमा यो भन्दा शक्तिशाली ड्रोन बनाउने अभियान जारी छ । हालका दिनमा अमेरिका एमआईटीका पाँचजना विद्यार्थीहरू राष्ट्रिय आविष्कार केन्द्रमा दुई महिनाका लागि इन्टर्नसिप गर्दै आएकाले पनि आविष्कार केन्द्रमा काम सहज बन्दै गएको छ ।
हाल स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता सम्लग्न ड्रोन टिमले थप आविष्कार गर्दै गरेको ड्रोनको कम्युनिकेसन तथा नेभिगेसन सिस्टम अझ बलियो बनाउने कुरामा कसरत गरिरहेको छ । यसमा एअर फ्रेमहरूको डिजाइन गरिने कुरालाई पनि प्राथमिकतामा राखिएको छ । गह्रौं भारी बोक्न सक्ने र सुरक्षितसाथ खसाल्न सक्ने सिस्टमको विकास यसमा गरिने इन्जिनियर टिमको दाबी रहेको छ ।
नेपालजस्तो तराइदेखि हिमालयसम्मको भुधरातल रहेको कठिन भौगोलिक बनावटमा उपयुक्त ड्रोनको निर्माण र परीक्षण कठिन र कौतुहलतापुर्ण खोज तथा अनुसन्धान कार्य हो । हिमालयको उपस्थिति, मनसुनको आगमन, त्यसबाट निम्तने प्राकृतिक विपत्ति, जनधनको क्षति तथा उद्धार कार्यमा हुने र भइरहेको ढिलाइलाई मध्यनजर गरेर यस खोजमुलक सिर्जनात्मक वैज्ञानिक कार्यलाई अघि बढाइएको आविष्कार केन्द्रका अध्यक्ष पुनको दाबी छ ।
यस कार्यमा हाल १० जनाभन्दा बढी नेपाली रिसर्चरले काम गरिरहेका छन् । विदेशी रिसर्चरले भोलेन्टियर रूपमा काम गरिरहेका छन् । यस आविष्कारले प्राकृतिक विपद्का बेलामा अत्यावश्यक सामग्रीहरू छोटो समयमा एक ठाउँबाट अर्को ठाउँमा पुराउन सहयोग गर्ने छ । निर्माण भइरहेको ड्रोनले ११० किलोमिटर प्रति घण्टाको स्पिडमा उडान भर्ने विश्वास गरिएको छ ।